हरेक वर्ष वर्षायाममा भलबाढीको समस्या भइरहेकामा त्यसलाई नियन्त्रण गर्न केशलिया–बुढीखोला करिडोरमा बाँध निर्माण गरिने भएको छ। बाँध निर्माण गर्नेबारे हालै अध्ययन गरिएको थियो। उक्त अध्ययनपछि अध्ययनमा संलग्न महेन्द्र सुब्बा र प्रशान्त मल्लले प्रतिवेदन तयार गरी कोशी प्रदेश सरकारलाई बुझाइसकेका छन्।
सुनसरीको दुहबी नगरपालिका, बर्जु गाउँपालिका र बुढीगंगा गाउँपालिका एवं विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत एक अर्ब ३२ करोड रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।
आगामी तीन वर्षमा सम्पन्न गरिने जनाइएको उक्त परियोजनाले सुनसरीको दुहबीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण गर्नेछ।
यसका साथै खोलामा बाँध निर्माण र आसपास क्षेत्रको सौन्दर्यीकरण पनि गरिने जनाइएको छ। स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरिएको छ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले नदीलाई विनास नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताए।
केशलिया–बुढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर बग्ने केशलिया र बुढीखोला नदीको सौन्दर्यीकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए।
मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले सुनसरीको बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज) मा सहज पहुँच हुने साथै प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राखे।





























प्रतिक्रिया