आरोहणक्रममा ज्यान गुमाउने शेर्पाको लागि कल्याणकारी कोष स्थापना हुने

आरोहणक्रममा ज्यान गुमाउने शेर्पाको लागि कल्याणकारी कोष स्थापना हुने

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले आरोहणको क्रममा मृत्यु भएका आरोही शेर्पाहरुका लागि कल्याणकारी कोष व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कल्याणकारी कोषको लागि मन्त्रालयको तर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाउने भन्दै आरोहणको क्षेत्रमा कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढेको बताए।

उनले भने, ‘नेपालको पर्वतीय पर्यटन र आरोहणको क्षेत्रमा हामीले केही कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढाइरहेका छौँ। नेपालको आरोही समुदाय अथवा स्वदेशी र विदेशी आरोहीको सपना साकार पार्ने क्रममा मृत्यु भएका आरोही शेर्पाहरुका लागि कल्याणकारी कोषको व्यवस्थाको लागि नेपाल सरकार सकारात्मक छ। यस विषयमा मन्त्रालयको तर्फबाट पनि औपचारिक हिसाबले प्रस्ताव अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु।’

मन्त्रीले सूचना संकलन, समप्रेषण, समन्वय, सहजीकरण र नियमन लगायतका कार्यहरु सम्पादन गर्नका लागि यस वर्ष सगरमाथा आधार शिविरमा अस्थायी फिट कार्यालय स्थापनाका साथ काम अगाडि बढेको पनि जानकारी दिएका छन्।

उनले भने,‘नेपाल सरकारले सूचना संकलन, सम्प्रेषण, समन्वय, सहजीकरण र नियमन लगायतका कार्यहरु सम्पादन गर्नका लागि यस वर्ष सगरमाथा आधार शिविरमा अस्थायी फिट कार्यालय स्थापना गरेर हरेक आरोहीको रेकड राख्ने प्रयासको थालनी पनि गरेको छ। सम्पूर्ण सूचनाको आधारमा यस कार्यालयले कुशलतापूर्वक कार्यसम्पादन गर्न सफल भएको पनि छ।’
यसको साथै, नेपाल सरकारले आगामी वर्ष नेपालमा १६ लाख पर्यटनको आगमनको लक्ष्य निर्धारण गरेको भन्दै त्यो लक्ष्य पूरा गर्नका लागि सबैको समन्वय र सहकार्य आवश्यक भएको पनि उनको भनाई छ।

उनले भने,‘नेपाल सरकारले आगामी वर्ष नेपालमा १६ लाख पर्यटनको आगमनको लक्ष्य निर्धारण गरेको छ। यो लक्ष्य पूरा गर्नको लागि पर्वतारोहीहरुसँग सम्बन्धीत विभिन्न संस्था, समुदायहरु र पर्यटन व्यवसायहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर नेपाल सरकारले राखेको लक्ष्य पूरा गर्न लाग्ने छौँ।’

Logo