काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए र हाल कास्की प्रहरीको हिरासतमा छन् । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।
न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस आज दिउँसो सकिएसँगै आदेश सार्वजनिक भएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।
आज लामिछानेसहित छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।





























प्रतिक्रिया