काठमाडौं । गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईले फेरि एकपटक आफू नभागेको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले भनेका छन्, ‘पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । म भाग्न जन्मेको होइन । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु ।’
साथै उनले आफूबाट आन्दोलनको नेतृत्व हत्याउने षड्यन्त्र भएको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूलाई राजावादी पार्टीको नेता बताउने एक जना मिलेर उक्त षड्यन्त्र रचिएको पनि उनको आरोप छ ।
उनले भनेका छन्, ‘दुर्गा प्रसाईं भनेको विचार हो । हरहर दुर्गा घरघर दुर्गा हुन्छ । म रहेँ भने यो जनविद्रोह सफल हुन्छ । नभए जनविद्रोह दबिएर जान्छ । म पेरुको गोन्जालो बन्न चाहन्नँ । गोन्जालोलाई पक्रेर मारियो । त्यसपछि पेरुको जनविद्रोह सकियो । म नेपालीहरूको लिडर बन्न चाहन्छु ।’
प्रसाईं नै जनकमाण्डर तोकिएको चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो । उनीहरुको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रसाईंले घोषणा गरेका छन् ।





























प्रतिक्रिया