काठमाडौं। बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेका सवारी साधनलाई कर र दस्तुरमा छुट दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ का लागि लागू हुने यो निर्णय प्रदेश राजपत्रमार्फत सार्वजनिक गरिएको हो।
प्रदेश सरकारद्वारा जारी सूचनाअनुसार आन्दोलनका क्रममा सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधन पूर्णरूपमा नष्ट भएका खण्डमा चालु आर्थिक वर्षको सवारी साधन कर र नवीकरण दस्तुर तिर्नु नपर्ने व्यवस्था गरिएको छ।
प्रदेश सचिव झलकराम अधिकारीको हस्ताक्षरसहित प्रकाशित सूचनामा छुटको दायरा स्पष्ट गर्दै, भाडाका सार्वजनिक सवारी साधन का लागि भने जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुर मा पनि राहत दिइने उल्लेख छ।
प्रदेश सरकारले आन्दोलनबाट प्रभावित सवारी धनीलाई आर्थिक बोझ कम गर्ने उद्देश्यले यो निर्णय लिएको जनाएको छ। निर्णय कार्यान्वयनसँगै क्षतिग्रस्त सवारी साधनका धनीले चालु वर्षका लागि कर, दस्तुर र जरिवानाबाट आंशिक राहत पाउने भएका छन्।































प्रतिक्रिया