हिमपातसँगै जुम्लाको जनजीवन प्रभावित, किसान भने उत्साहित

हिमपातसँगै जुम्लाको जनजीवन प्रभावित, किसान भने उत्साहित

केन्द्रबिन्दु
30
Shares

जुम्ला। लगातार परेको हिमपात र बढ्दो चिसोका कारण जुम्लाको जनजीवन प्रभावित भएको छ। अत्यधिक जाडो बढ्दै जाँदा खानेपानीका धाराहरू जम्न थालेका छन् भने ठाउँ–ठाउँमा पाइप फुट्दा नागरिकलाई पिउने पानीको समस्या देखिएको छ।

पिउने पानी आउन छाडेपछि स्थानीयवासीले दैनिक जीवनयापनमा सास्ती खेप्नुपरेको छ । चन्दननाथ नगरपालिकाकी स्थानीय सुनिता बुढाका अनुसार माघ लागेसँगै बढेको कठ्याङ्ग्रिने जाडोले बिहान र बेलुकाको दैनिकी निकै कष्टकर बनेको छ। जुम्लासँगै माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पा जिल्लामा पनि चिसोका कारण जनजीवन प्रभावित हुँदै गएको छ।

हाल जुम्लाको न्यूनतम तापक्रम माइनस ०.७१ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम कार्यालय जुम्लाले जनाएको छ। कार्यालय प्रमुख आशामपुरा कार्कीका अनुसार आगामी तीन दिनसम्म मौसम बदली रहने सम्भावना छ।
“हिमपातपछि चिसो अझ बढेको छ,” कार्कीले भने, “नागरिकको दैनिकी विशेषगरी बिहान र साँझ निकै कष्टकर बन्दै गएको छ।”

खलङ्गा खानेपानी उपभोक्ता समितिका अनुसार करिब दुई हजार पाँच उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइँदै आएको भए पनि चिसोका कारण सेवा प्रभावित भएको छ।

हिमपातले किसानलाई राहत

अत्यधिक चिसोले जनजीवन प्रभावित भए पनि हिमपातले किसानलाई भने राहत पुगेको छ। जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा माघको दोस्रो सातामा परेको यस वर्षको पहिलो हिउँले हिउँदे बालीका लागि अनुकूल वातावरण बनेको किसान बताउँछन्।

तिला गाउँपालिका–१ का स्थानीय लङ्क बुढाका अनुसार समयमै परेको हिमपातले हिउँदे बाली राम्रो हुने अपेक्षा बढाएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार हिमपातले गहुँ, जौ, आलु लगायत हिउँदे बालीनालीलाई फाइदा पुगेको छ।

स्याउका नयाँ बिरुवा रोप्ने समय भएकाले हिमपातले काम गर्न सहज भएको किसानको भनाइ छ। हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् भने लामो समयपछि हिउँ परेपछि स्थानीयवासी फोटो र भिडियो बनाउन व्यस्त देखिएका छन्।

हिमपातका कारण अवरुद्ध भएको हवाई सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको नागरिक उडान कार्यालय जुम्लाले जनाएको छ।

Logo