कञ्चनपुरमा चुनावी सरगर्मीः चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डामा बहस

कञ्चनपुरमा चुनावी सरगर्मीः चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डामा बहस

केन्द्रबिन्दु
6
Shares

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कञ्चनपुरमा राजनीतिक दलहरूले प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन्। युवा मतदातालाई लक्षित गर्दै दलबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रमुख दलहरूले नौ स्थानीय तहका ९२ वडामा सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसार तीव्र बनाएका छन्।

कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा गोपिप्रसाद उपाध्याय, क्षेत्र नं २ मा एनपी साउद र क्षेत्र नं ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहेका छन्। नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बिना मगर, क्षेत्र नं २ मा माधवप्रसाद पन्त र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार रहेका छन्। एमालेले पनि तारा लामा (क्षेत्र १), बचनबहादुर सिंह (क्षेत्र २) र डा. दीपकप्रकाश भट्ट (क्षेत्र ३) उम्मेदवारका रूपमा अघि सारेको छ।

रास्वपाले जनकसिंह धामी (क्षेत्र १), दीपकराज बोहरा (क्षेत्र २) र ज्ञानेन्द्रसिंह महता (क्षेत्र ३) उम्मेदवारसहित घरदैलो अभियान तीव्र बनाएको छ। राप्रपाले वडावडामा मतदातासँग समूहगत अन्तर्क्रिया गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेको छ।

यसपटकको निर्वाचनमा दलहरूले विशेष ध्यान युवा मतदातामा केन्द्रित गरेका छन्। बेरोजगारी, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकास योजनालाई प्राथमिकता दिँदै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरेका छन्।

चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस सुरु भएको छ। वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताले जनाएका छन्।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५५ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

Logo