काठमाडौं । नेपाल सरकारले इरान जाने योजना बनाएका नेपालीलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ ।
इरान र अमेरिका युद्धको संघारमा पुगेका बेला परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न अनुरोध गरेको हो ।
“इरानमा भइरहेको पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ,” मन्त्रालयले भनेको छ, “त्यस्तै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकलाई सकेसम्म छिटो देश (इरान) छोड्न सल्लाह दिन्छौँ ।”
परराष्ट्रले इरानमा रहेका नेपालीलाई आपत्कालीन उद्धार गर्नुपरेमा आफ्ना पासपोर्ट, ट्राभल डकुमेन्ट, परिचयपत्रजस्ता महत्त्वपूर्ण कागजात सहजै भेटिने स्थानमा राख्न पनि आग्रह गरेको छ ।
इरानको आणविक कार्यक्रम र हालैका सरकारविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको धम्की दिएपछि पछिल्लो समय दुई देशबीच तनाव चुलिएको छ । अमेरिकाले यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोतसहित ठूलो नौसैनिक शक्ति खाडी क्षेत्रमा पठाएको छ ।





























प्रतिक्रिया