काठमाडौं । नेपालको लोकप्रिय सुपर एप हाम्रो पात्रोले डिजिटल सञ्चारलाई अझ सहज र सुरक्षित बनाउने उद्देश्यसहित नयाँ भिडियो कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’ सार्वजनिक गरेको छ।
यस सेवामार्फत प्रयोगकर्ताहरूले कुनै अतिरिक्त एप डाउनलोड नगरी सिधै हाम्रो पात्रो एपभित्रै उच्च गुणस्तरको भिडियो बैठक सञ्चालन गर्न वा सहभागी हुन सक्नेछन्।
एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध यो सेवा मेनु कार्ड तथा साइडबारबाट सजिलै पहुँचयोग्य छ। बैठकको लिङ्क सेयर गरेपछि सहभागीहरूले एक क्लिकमै बैठकमा प्रवेश गर्न सक्ने सुविधा राखिएको छ।
कम्पनीका अनुसार ‘चौतारी मिट’ मा सहभागी व्यवस्थापनलाई प्राथमिकता दिँदै आयोजकले सदस्यलाई म्यूट गर्ने, भिडियो बन्द गर्ने वा हटाउने, साथै बैठकमा इन-मिटिङ च्याट सुविधा प्रयोग गर्न सक्नेछन्।
डेस्कटप तथा ल्यापटप प्रयोगकर्ताका लागि वेब संस्करणमा उपलब्ध छ, जसमा थप व्यावसायिक र विस्तारित सुविधाहरू समावेश छन्।
हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतमका अनुसार, “‘चौतारी मिट’ केवल भिडियो कन्फरेन्सिङमा सीमित छैन। यसलाई सजिलो, सुरक्षित र बहुउपयोगी डिजिटल प्लेटफर्म बनाउँदै लैजाँदैछौँ। चाँडै मिटिङ सेड्युलिङ, डकुमेन्ट सेयरिङ, मोबाइलबाट कन्टेन्ट शेयर, फेसबुक र युट्युबमा लाइभ जस्ता सुविधाहरू थपिनेछन्। यसले अफिसियल मिटिङ, अनलाइन कक्षा, तालिम र पारिवारिक भलाकुसारीका लागि विश्वसनीय स्वदेशी विकल्पको रूपमा काम गर्नेछ।”
कम्पनीले डिजिटल क्षेत्रमा नेपाली प्रयोगकर्ताका लागि स्वदेशी समाधान उपलब्ध गराउने लक्ष्यका साथ यो सेवा सार्वजनिक गरिएको जनाएको छ।





























प्रतिक्रिया