काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागलगायत अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ । देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हुस्सु, तुँवालो र हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दा तथा ती क्षेत्रमा यातायात सञ्चालन र दैनिक गतिविधि सावधानीपूर्वक गर्न महाशाखाले अनुरोध गरेको छ ।





























प्रतिक्रिया