झापा। झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको जीवन कुनै समय अभावले भरिएको थियो । बिहान–बेलुकाको छाक टार्नै कठिन हुने अवस्थाबाट उनी गुज्रिएका थिए । तर अहिले अवस्था फेरिएको छ । मजदुरी गरेर गुजारा चलाउने उनी आज उद्यम चलाएर आम्दानी गर्ने अवस्थामा पुगेका छन् ।
भृकुटीस्थित सरस्वती टोलमा उनले ‘गणेश नर्सरी’ सञ्चालन गरेका छन् । यहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्म उनका बिरुवा बिक्री हुने गरेका छन् ।
२०७३ सालमा दुई हजार ७०० रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले विस्तार भएर वार्षिक करोडभन्दा बढी कारोबारमा पुगेको छ । नर्सरीसँगै उनले सुपारी प्रशोधन उद्योग पनि चलाएका छन् । स्थानीय किसानबाट सुपारी किनेर प्रशोधन गरी बजारमा पठाउने काम भइरहेको छ ।
सुरुका दिनमा उनी अरूको खेतमा काम गर्ने, पशु चौपाया बेच्ने र सानो व्यापार गर्दै जीवन चलाउँथे । केही समय पत्रिका वितरणको कामसमेत गरे । कक्षा १० पछि उनी पूर्ण रूपमा स्वरोजगारमा लागेका थिए । कृषि क्षेत्रमा काम गर्दा सिकेको अनुभवले उनलाई व्यवसाय सुरु गर्न सहयोग गर्यो ।
उनको व्यवसायमा अहिले २० जनाभन्दा बढीले काम पाएका छन् । गाउँमै रोजगारी सिर्जना भएको छ । परिवारको साथ पनि व्यवसाय विस्तारमा उपयोगी बनेको छ ।
विदेश जाने सोच बनाउने युवाहरूबीच उनले गाउँमै काम गरेर आम्दानी गर्न सकिने उदाहरण देखाएका छन् । मेहनत र निरन्तरताले सामान्य अवस्थाबाट व्यवसायसम्म पुग्न सकिने उनको यात्राले देखाउँछ ।





























प्रतिक्रिया