नेपाल बारले बुधवार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने, कसले के भने ?

नेपाल बारले बुधवार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने, कसले के भने ?


नेपाल बार एसोसिएसनले ८ मंसिर बुधवार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो । सर्वोच्च अदालत परिसरमा सोमबार भएको कोणसभामा कुन कानुन व्यवसायीले के भने :

चण्डेश्वर श्रेष्ठ: अध्यक्ष, नेपाल बार एसोसिएसन

जबराको पालामा तीन वर्ष लगातार अन्याय भएको छ । फेरि एक वर्ष अन्याय हुन दिँदैनौँ । गरिबका मुद्दा छोडेर के तपाई निरंकुश हो । के संविधानले निरंकुश हुने अधिकार दिएको छ ? तपाईँले बिचौलिया भ्रष्टाचार चाहेको हो ?

गरिबका मुद्दा पन्छाएर बिचौलियाबाट करोडौँ उठाएर धनीका मुद्दा हेरिरहेका छन् । अब सेवाग्राही अन्यायमा पर्दैन भनेर आवाज उठाएका छौँ । 

८३ हजार कानुन व्यवसायी छौँ । ९० इकाई आन्दोलनमा छन् । इकाइबाट सर्वाेच्चमात्र होइन जिल्लामा पनि शुद्धीकरण अभियान चलाउने प्रस्ताव आएको छ । 

हामी अब ज्ञापनपत्र बुझाउन जाँदैछौं । भोलि पनि निरन्तर जारी रहन्छ । राजीनामा नआएसम्म जारी रहन्छ ।

कमल कोइराला: वरिष्ठ अधिवक्ता 

प्रजातन्त्रदेखि गणतन्त्र आयो । तर, भ्रष्टाचार रोकिएन । यो देशव्यापी भ्रष्टाचार विरुद्धको आन्दोलन हो । आन्दोलनले प्रधानन्यायाधीशको अधिकार कटौती भयो । सेटिङ रोकियो । न्यायाधीशले नै स्वच्छाको अभियान थाले । गोलाप्रथा ल्याए । न्यायाधीशको पनि साथ छ । भ्रष्टाचारले अन्याय हुन्छ ।

हरिशंकर निरौला: वरिष्ठ अधिवक्ता

आफ्नो इज्जत कसरी राख्ने भनेर इतिहासले मान्छलाई अवसर दिन्छ । अहिले प्रधानन्यायाधीश जबरालाई पनि त्यो मौका छ । सम्मानजनक बहिर्गमनको लागि आग्रह गरेका हौँ । हाम्रो यो आग्रहलाई कमजोर ठानेर जबरजस्ती बस्ने हो भने उहाँको विरुद्धमा हामीले नसोचेको कुरा आउँछ । आम जनता उर्लिन्छन् । त्यस कारण सम्मानजनक बहिर्गमन गर्नुपर्छ । उहाँको आयु लम्ब्याएर न्यायपालिकाको कल्याण हुँदैन । 

शिव रिजाल: अधिवक्ता 

हामी शान्तिकर्मी हो । हिंसा चाहँदैनौँ । भ्रष्टाचाररहित न्यायपालिकाका लागि लडिरहेका छौँ । निर्भीक स्वतन्त्र र भ्रष्टाचाररहित अभियानमा लाग्न आह्वान गर्छौँ । आज बौद्धिक लडाइँ लडिरहेका छौँ । २०६२/०६३ जस्तो कानुन व्यवसायीको लडाइँ गर्ने अवस्था आउँछ । डिफेन्सिभ होइन अफेन्सिभ लडाइँ सुरु गर्नुपर्छ । युवाहरू उतारौँ ।

आत्मालोचना गरेर सहज बहिर्गमन गर्नुहुन्छ कि सबै हतकण्डा अपनाएर निकाल्ने अवस्था आउँछ । दलहरू पनि पनि होस गर्नुस् । बन्दी जीवन बिताउने अवस्था नआओस् । होस् गर्नुस् । 

गणेश ओली: अधिवक्ता 

न्यायको माग गर्दै हिँड्ने कानुन व्यवसायीमाथिको दमन हो । बुट र लाठी बर्साइयो । हामी तपाईँ (जबरा)को दमनबाट पछाडि हट्ने छैनौँ ।

डिबी राई: अधिवक्ता 

राजनीतिजस्तो न्यालय होइन । कालो मोसो दलेर फेरि माला लगाइन्छ राजनीतिमा । तर, न्यायालयको आफ्नै गरिमा छ । तपाईँ (जबरा) निर्लज्ज भएर बस्नुहुँदैन ।  तपाईँको बहिर्गमन सोचेकोभन्दा भयावह र खतरनाक हुन्छ । बारको आन्दोलन बिलाएर जान्छ भन्ने नसोच्नुस् । शुद्धीकरणको अभियान रोकिँदैन ।  न्युज कारखाना

Logo