-आकांक्षा धामी
आज मेरो जन्मदिन! यो संसारमा पाइला टेकेको दिन! आज अलि न्यास्रो लाग्दैछ आमा खै किन हो थाहा छैन। म जन्मेदेखि आफ्नो लागि नसोचि नखाई नलाई यहाँसम्म पुर्याउनुहुने मेरा प्यारा आमा बाबाप्रति नमन! आजभन्दा १९ वर्ष अगाडि, माघको महिना १६ गते! मेरो आमाबुवाको आँखा खुसीका आँसुले भरिएको दिन। मेरा बाबाआमा तेस्राे पटक अभिभावक बनेको दिन। मैले संसार देखेको दिन। म पहिलो पटक रोएको दिन अनि आमा र बुबा खुसी भएको दिन।
आजैको दिन बुबामाथि थप जिम्मेवारी बढेको दिन। मैले यो धर्तीमा पहिलो पटक आँखा खोलेको, आवाज निकालेको, पाइला टेकेको दिन।
सायद मेरी आमाले बुबालाई भेटेको दिन, मायाप्रिती लगाएको दिन बिर्सनुभयो होला। उहाँहरूको विवाहको मिति पनि बिर्सनुभयो होला। आफ्नै जन्मदिन बिर्सनुभयो होला। जीवनका अति दुःखद पलहरू बिर्सनुभयो होला। तर कहिलै बिर्सिनुहुन्न मलाई अनि मलाई जन्माएको दिन, अर्थात मेरो जन्मदिन।
यो महान शब्दको म कसरी बर्णन गरू आमा ? म त शब्दमा यो सबै लेख्न व्यतित छु। मेरो जिबनमा कहिले ब्यबहारमा यो सबै शब्द उतार्न पाउला? मेरो जिबनका धेरै लक्ष्य होलान्, पूरा होलान्/नहोलान् ? तर बस मेरा भगवानरुपि आमा बाबालाई सधैं खुशि राख्न पाउँ। मानिस कति निर्दयी छन् है ? भगवान खोज्न मन्दिर पस्छन्, किन पस्नुपर्यो मन्दिर ? आफ्ना आमा बाबालाई सधैं माया गर घृणा नगर। सधैं आमाबाको भनेजस्तै काम गर किन खोज्न जानुपर्यो भगवान ? म मन्दिर नि त्यहि पाउछु भगवान नि त्यहि पाउछु जहाँ मेरा आमा बाबा हुनुहुन्छ। हजुरहरुको चरणमा थिए, छु र सधैं त्यहि हुनेछु आमा अनि बाबा!
म सम्झन्छु ! आमा, हजुर धर्ती हो, मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन्। बुवा, हजुर आकाश हो, मलाई हरेक कुराको कमी हुन दिनुभएन। हजुरहरुले भन्नु हुन्थ्यो नी, ‘राम्रो बनेस्, ज्ञानी छाेरी बनेस्, धेरै पढेस्, ठूलो मान्छे बनेस्,आफू भन्दा ठुला मान्छेले भनेको राम्राे कुरा मानेस्, आमाबुवाको र परिवारको ईज्जतको ख्याल गरेस्।’
म अहिले पनि हजुरहरुले सिकाएको बाटोमै छु। अहँ, मैले बाटो बिराएको छैन, तर माफ गर्नुस् आमाबाबा। म संघर्षको महासंग्राममा छु, मैले हजुरहरुलाई विश्राम दिन सकेको छैन! जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र ? मन नदुख्ने कस्को हुन्छ र ?
मलाई मेरो घरपरिवार, आफन्तजन, ईष्टमित्रको माया छ, ममता र स्नेह छ। अनी मात्रै म यहाँसम्म आएकी छु । यदी हजुरहरुको साथ र सहयोग नभएको भए राम्रो लगाउन पाउदैन थिए होला ! म बाबा-आमा भन्दा भौतिक दुरिले टाढा छु। यदि तपाईंहरुको साथ नभएको भए काठमाडाैँमा बसेर पढ्न पाउँदैन थिए होला ! यो सबै हजुरहरुको प्रेरणा हो। मलाई आसा छ। म जिन्दगी भर हजुरहरुको माया र प्रेरणा पाइ नै रहनेछु।
तर भनिन्छ छाेरी भएपछि बुढेसकालकाे सहार बन्न सकिँदैन,तर म फेरी सोच्छु। मेरो आमा अनि बाबाको अपेक्षामध्ये सबैभन्दा ठुलो अपेक्षा बुढेसकालको सहारा अनि साथ बन्न सकुँ।
जीवनका हरेक पाइलामा हजुरहरूले गरेको संघर्षलाई नजिकबाट नियाल्न नपाए पनि राम्रोसँग बुझेको छु। बाबाले हामी अनि परिवारका लागि भनेर अनेक काम गरेर परिवारलाई अहिले सबैलाई राम्रो जीवन बिताउन सक्ने बनाउनुभएको छ।
मेरा बा संसारको सबैभन्दा उत्कृष्ट बा हुनुहुन्छ। मेरी आमाले पनि म जन्मेदेखि आफूलाई बिर्सिइन्, आफ्ना सपनाहरूलाई बिर्सिइन्। मेरी आमाले आफ्ना सबै कुरा म मा समाहित गरिकी छन्। मेरी आमाले मलाई नौ महिना गर्भमा राखिन्, दूध चुसाइन्, माया र ममता दिइन्। मेरी आमा त्यती धेरै पढेलेखेकी त होईनन्, तर मेरी आमा मेरो शिक्षक हुन्, जसले मलाई तातेताते गराउँदै हिड्डुल गर्न, बोल्न, खान, लगाउन, रितिरिवाज, परम्परा, संस्कार र संस्कृति, न्याय र अन्याय, सही र गलत, सत्य र असत्य आदि जीवनमा सबैभन्दा बढी र पहिला सिकाईन्।
मेरी आमा मेरो लागी ठुलो डाक्टर हुन्। मलाई अलिकति ज्वरो आयो, टाउको दुख्यो, रुघाखोकी लाग्यो , मेरो हातखुट्टा काट्यो भने आफूलाई बिर्सेर मेरो लागी मर्ने गर्छिन्। धेरैपटक बिरामी हुँदा आमाको काख र तातोपानीले निको भएका उदाहरण पनि मसँग थुप्रै छन्।
मेरी आमा होटेल म्यानेजमेन्ट पढेकी त छैनन् तर पाँचतारे होटलको खानाभन्दा मीठो लाग्छ मलाई उनले पकाएको खाना! मलाई यति धेरै माया गर्ने संसारकै उत्कृष्ट छिन् मेरा लागी मेरी आमा! म मेरा हरेक सुख दुख उनिसंग साट्न सक्छु, मेरा दुई सब्द फोनमा सुनेकै भरमा उनि म भित्र के बितिरहेको छ सजिलै पत्ता लगाउन सक्छिन्। मेरा हरेक सुखःदुख र अफ्ठ्यारो परस्थितिमा साथ दिन्छिन्। मेरी आमा आज पनि मेरी साथी जस्तै छिन्, अरुको नजरमा हामी साथि जस्तै देखीन्छौँ रे। मसँग साथि जस्तै देखीने मेरी आमाका पनि हातमा ठेला उठेका छन्। पैतलाहरु फाटेका छन्। सधैं दुखीरहने त्यो कम्मरमा पटुका कसेर मेरा बा सरह नाम्लो र थाप्लोको मीलनमा सहगयोगी बनिदिन्छिन्, अब त बुढी हुन् थालिन क्यारे, कताकता कपाल पनि फुल्न थालेको छ। आँखा वरिपरिदेखी छाला चाउरी पर्न सुरु गरेको छ। मेरा बा र आमाले जिन्दगी भुलेर मबाट सपना देख्न थाल्नुभएको छ। सबैका बा आमाझैँ मेरा बा र आमाको पनि सपना छ।
आज म शिर ठाडो बनाएर म यो हुँ त्यो हुँ, मैले यो गरेको छु त्यो गरेको छु, भन्ने जुन आँट गर्छु, त्यसमा मेरा बा आमाका कयौं रात अनिँदो बिते होलान्, खुन पसिना बगे होलान्, कयौं रात भोकभोकै रहे होलान्, यो कुरा मैले बुझ्ने कोशीस गरेको छु। मलाई यो संसारमा मैले सरह चिन्नुभएको छ, मेरा बा आमाले।
यो समाज हामी शिक्षित व्यक्तिको जमात हो, हामी शिक्षित हौं भनेर भनिरहँदा मानिसिक रुपमा शिक्षित बन्ने कोशीस गर्नेछु। म हजुरहरुको चाहाना अनुसार अघि बढिरहेको छु या छैन, यो त म जान्दिन तर लाग्छ मेरा बा र आमा मसँग सन्तुष्ट हुनुहुन्छ। ढुक्क हुनुस् म हजुरहरुको सपना मर्न दिने छैन, यो मेरो बाचा भयो। आमा, बा तपाईंको छोरी संधै हजुरहरुको ईमान्दार कर्तव्यनिष्ठ छोरी र यो देशको कर्तव्यनिष्ठ नागरिक बन्नेछे।
सम्झना छ हरपल हरक्षण म विरक्त हुनेछु!
जिउँदो भगवान हुन् मेरी आमा म भक्त हुनेछु!
आमाको बयान गर्नलाई कुनै शब्द नै भेटाइन्
यस्तै उर्जा दिँदै गर्नु आमा झन म सशक्त हुनेछु!
अन्तत आज मेरो जन्मदिन हरेकले आफू जन्मेको दिनमा गर्व गर्न सकुन् मलाई यो धर्तीमा पाइला टेकाउने, यो संसार देखाउने मेरो आमाबुवालाई शिर निहुराइ नमन, र सम्मान ब्यक्त गर्छु।































प्रतिक्रिया