एमाले अध्यक्ष केपी ओलीले यही जेठ २३ गते, नेता माधवकुमार नेपालले २४ गते र अर्का नेता बामदेव गौतमले २५ गते छुट्टाछुट्टै राजनीतिक प्रस्ताव गरे।
तीन नेताको एक/एक दिनको अन्तरमा आएको प्रस्तावको मूल जोड ‘एमाले एकता’मा छ।
ओलीले ६ बुँदे, नेपालले पनि ६ बुँदे र गौतमले पाँच बुँदे प्रस्ताव गरे। तर, ठीक विपरीत एकता झन् पर धकेलिएको छ। एकता टरेको स्थितिमा छ। एकताका लागि भन्दै प्रस्ताव गरेपछि निकट हुनुपर्नेमा आखिर किन दूर?
यसको पछि एउटा कारण छ। त्यो हो–आएका प्रस्तावहरू नेताहरूको स्वार्थ केन्द्रित छन्।
‘एकताका लागि पहल गरेकै थिएँ’ भन्न प्रस्ताव आएको देखिन्छ। जो पार्टी एकता जोगाउनका लागि गरिएको इमान्दार प्रयास भन्न सकिने स्थितिको छैन।
कसको स्वार्थ के?
ओलीले जेठ २३ को रात ६ बुँदे प्रस्ताव गर्नुको पछि तीनवटा स्वार्थ छन्।
पहिलो-पार्टीका निलम्वित नेता माधवकुमार नेपाल पक्षले विपक्षी गठबन्धनमा रहेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् र प्रतिनिधिसभा पुनःस्थापना गरियोस् भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनबाट हस्ताक्षर फिर्ता गराउने। हस्ताक्षर फिर्ता गराएर रिट निवेदक (विपक्षी गठबन्धन) पक्षलाई कमजोर बनाउने ओलीको चाहना हो।
दोस्रो-जेठ २ अगाडि नगए पनि जेठ ३ गते अगाडि जाने र जेठ २ गते थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई अनुमोदन गराउने। जतिबेला ४४ जना केन्द्रीय कमिटी सदस्य थपिएका थिए। जसमध्ये ओली पक्षका ३० जना छन्। त्यसो हुँदा ओली अझ शक्तिशाली हुने हुन्छ। यो स्वार्थ ओलीमा छ।
तेस्रो- पार्टी विभाजन भए पनि ‘एकताको लागि पहल गरेकै हो’ भन्ने।
ओलीको प्रस्तावलाई नेता नेपालले एकता नभई अनेकता सिर्जना गर्नेतर्फ लक्षित, अल्मल्याउने भाषा प्रयोग भएको, गुटगत स्वार्थलाई प्रधानता दिएको र आफू मनपरी गर्दै अरुलाई उपदेश दिएको भनेर टिप्पणी गरिसकेका छन्।
नेता गौतमले पनि अध्यक्ष ओलीको प्रस्तावमा ‘कुटिल, चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयोग’ गरेको प्रक्रिया दिए।
तर, नेता नेपालले सार्वजनिक गरेको प्रस्तावमा पनि उनका निहीत स्वार्थहरू छताछुल्ल छन्।
पहिलो–पार्टीलाई जेठ २ अगाडिको संरचनाबाट बढाउँदा ओलीलाई पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा टक्कर दिन सकिन्छ भन्ने नेपाललाई लागेको हो।
दोस्रो–पार्टीमा ओली विधिविपरीत गएको र विधिको पक्षमा वकालत गर्ने नेताको सन्देश दिन चाहेका छन्।
यसरी माधव नेपालको मुख्य दुई स्वार्थ रहँदा अर्का नेता गौतमको पनि प्रस्तावमा स्वार्थ देखिएको छ।
तेस्रो–एमाले एकताको सूत्रधार बन्ने र पार्टीको आन्तरिक राजनीतिमा शक्ति विकास गर्ने।
ओली भर्सेस नेपाल
नवौं महाधिवेशनबाट निर्वाचित ओली र पराजित नेपालबीच राजनीतिक रूपमा सत्रूतापूर्ण सम्बन्ध छ। एक अर्काविरुद्ध निर्मम बन्दै आएका छन्। गठबन्धन बनाएरै एकले अर्कालाई सिध्याउने खेल भइरहेको छ। जसले गर्दा ‘एमाले एकता’ गफको औचित्य सकिएको भन्ने स्थिति छ।
२३ फागुनमा एमाले ब्युउँतिएपछि ओलीका निर्मम प्रहार यस्ता छन्:
– २८ फागुन र ७ चैतमा नेपाल पक्षलाई नबोलाई आफूपक्षीय केन्द्रीय कमिटीको दुईवटा बैठक बसाए। बैठकबाट पार्टी विद्यान संशोधन, माओवादीबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन र केन्द्रीय कमिटी भंग।
– एक्लौटी दशौं महाधिवेशनको मिति तोक्दै, अध्यक्ष (ओली) र महासचिव (ईश्वर पोखरेल) बाहेकको पदाधिकारी विघटन।
– प्रदेश संगठन, जिल्ला कमिटी, जनवर्गीग संगठनको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकिए।
– चैत १६ गते माधवकुमार नेपाल र भीम रावल तथा चैत १९ गते घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन। (तर, ३१ वैशाखमा फुकुवा)
– नेता नेपाल, झलनाथ खनालसहित ११ जना नेता पार्टीको साधारण सदस्यतासमेत नरहने गरी जेठ १० मा निष्काशन।
– नेपाल पक्षका १२ सांसदलाई जेठ १० मै स्पष्टीकरण सोध्ने निर्णय। स्पष्टीकरण सोधिएको छ।
– माओवादी केन्द्रका रामबहादुर थापा पक्षलाई भित्र्याउने र जसपाको महन्थ ठाकुर पक्षलाई च्याप्दै नेपाल पक्षलाई पार्टी बाहिर धकेलिँदै छ।
नेता नेपालले पनि प्रत्युत्तरस्वरूप अनेकौं कदम चालेका छन्। जसले ओलीलाई अफ्ठ्यारो मात्रै होइन गम्भीर धक्का पनि पुगेको छ।
ओलीले ६ बुँदे, नेपालले पनि ६ बुँदे र गौतमले पाँच बुँदे प्रस्ताव गरे। तर, ठीक विपरीत एकता झन् पर धकेलिएको छ। एकता टरेको स्थितिमा छ। एकताका लागि भन्दै प्रस्ताव गरेपछि निकट हुनुपर्नेमा आखिर किन दूर?
– ४ चैतमा २०७७ मा राष्ट्रिय कार्यकर्ता भेला गरेपछि पार्टीको समानन्तर संगठन कमिटी देशभरका जिल्ला र प्रदेशमा गठन।
– ओलीसँग भन्दा पनि विपक्षी दलहरू कांग्रेस र माओवादीसँग गठबन्धनमा रहेर ३ वैशाखमा माओवादीका महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाउन संसदीय दलको ह्वीप उल्लंघन गर्दै शाहीलाई विश्वासको मत चार सांसदले दिए।
– जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई हराउँदै आफूपक्षीय स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कांग्रेस, माओवादीसहितको गठबन्धनमा रहेर जिताए।
– जेठ ११ गते प्रतिनिधिसभा विघटन गराउने पार्टी अध्यक्ष केपी ओलीको कदमविरुद्ध विपक्षी कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव, जनमोर्चासँगै गठबन्धनमा रहेर सर्वोच्चमा रिट दायर।
– जेठ १७ गते लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार चन्द्रबहादुर खड्कालाई मत नदिएर कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेयलाई मत दिँदै विजयी गराएका थिए।
– एमालेको बहुमत हुँदाहुँदै जेठ २५ गते माओवादी केन्द्रका त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थनसहित विश्वासको मत दिएर जोगाइ दिए।
योगेशको त्यो स्टाटस्
एमाले अध्यक्ष ओली नेपालसँग होइन, आफ्नै कटु राजनीतिक आलोचक राजेन्द्र महतो पनि रहेको जसपाको महन्थ ठाकुर पक्षसँग मिलेका छन्।
अर्कोतिर नेता नेपाल पनि ओलीसँग होइन, विपक्षी दलहरू कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव र जनमोर्चासँग मिलेका छन्। पार्टीमा आपसी मिलाप छैन। पूरै विग्रह छ। राजनीतिक कित्ताकाट छ।
यस्तो स्थितिमा प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले एमाले एकता हुन नसक्नुको मूल जड नै ओलीसँग नेपाल–खनाल नमिल्नु र नेपाल–खनालसँग ओली नमिल्नु रहेको टिप्पणी गरे।
नमिल्ने स्थिति कसले, किन र केका लागि गर्दैछ भन्दै प्रश्न पनि गरेका छन्।
नेता गोकर्ण विष्टले सोही आशय व्यक्त गरेका छन्। राजनीतिक जीवन बाँकी रहेका ती युवा नेताहरूको जोड पार्टी एकतामै छ। एकताको सूत्रधार बन्ने प्रयासमा छन्। तर, प्रयासले सार्थकता पाउन सकेको छैन। अझ बिग्रहको स्थितिमा पुगेको छ।
एमाले मिल्नु/नमिल्नु चिन्ताको विषय होइन: वाम विश्लेषक, डा.खगेन्द्र प्रसाइँ (जस्ताको तस्तै)
एमाले मिल्ने नमिल्ने चिन्ताको विषय होइन। चिन्ता त संविधान राज्य, लोकतन्त्रको हो। यसलाई बचाउने कुरा मूख्य कुरा हो। एमाले एकता हुनुभन्दा त यी पक्षहरू जोगिँदा जनता खुसी हुन्छन्। लोकतन्त्रमा पार्टी फुट्ने, नयाँ स्थापना हुने त प्रक्रिया नै हो। मुख्य कुरा त संविधान, राज्य र लोकतन्त्रको आधाूरभूत प्रणाली भताभुंग हुनु भएन।
र, एमाले जुटेर नेपाली कम्युनिस्ट आन्दोलन बच्छ? बच्दैन। पतनको दिशामा पहिल्यै गएको हो। एमालेको विचार, सिद्धान्त र व्यवहार कम्युनिस्टको होइन अहिले त। एमाले बच्नु त गैरवाम चरित्र बच्ने त हो। त्यहाँभित्रको पूँजीवादी चरित्र नै बच्ने हो।
त्यसो भएकोले एमाले एकता हुने कुराले नेपाली कम्युनिस्ट आन्दोलन बलियो हुन्छ भनियो भने एमाले नबुझेको भन्ने अर्थ हुन्छ।





























प्रतिक्रिया