राजीव गुरुङ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको सत्तामा निर्णायक भए। पछिल्लो दुई महिनाको अवधिमा उनी तीनपटक मन्त्री भए। उनको पृष्ठभूमि आपराधिक हो।
मनाङे नेपाली राजनीतिका एक्ला पात्र भने होइनन्। थुप्रै छन्। राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण दुवै प्रवृत्ति स्थापित हुँदै गएको छ। जुन प्रवृत्ति नेपाली राजनीतिको एउटा ठूलो विडम्बना बन्न पुग्यो।
राजनीतिमा धमाधम ‘डन’ हरूलाई भित्र्याइँदै छ। यो काम सबै दल र तिनका नेताहरूले गरेका छन्। यसमा कुनै दल अपवादको रूपमा छैन। एमालेले ‘डन’लाई भित्र्याएको छ, कांग्रेसले भित्र्याएको छ। माओवादी, जसपालगायत दलले ‘डन’ भित्र्याएको देखिन्छ।
यसले नेपालका राजनीतिक दलमा लोकतान्त्रिक मूल्य र मान्यता खत्तम भएर गएको संकेत गर्छ।
दलहरूले आफ्ना पार्टीमा पैसाको स्रोत खोज्ने, पैसाको स्रोतका लागि ठेकेदार खोज्ने, डनहरू भित्र्याउने, अपराधी भित्र्याउनेजस्ता काम गरिरहेका छन्।
यो नेपाली राजनीतिको दुःखद पक्ष हो। राम्रो मान्न पटक्कै सकिन्न। यसबाट नेपाली राजनीतिक दलहरू बाहिर निस्किन सक्नुपर्छ। कुनै पनि हालतमा यस्तो प्रवृत्तिको समर्थन गर्न सकिने अवस्था रहँदैन।
न त दलहरूले ठेकेदार भित्र्याउनु ठीक हो, न त डनहरू भित्र्याउनु ठीक हो। यो अविलम्व रोकिनुपर्छ। चारैतिरबाट आवाज उठ्नुपर्छ। हामी (राजनीतिक विश्लेषकहरू) ले पनि आवाज उठाइरहेका छौं। यो ठीक होइन। यसले राजनीतिलाई विकृत बनाउँछ।
डनहरुको दबदबाले राजनीतिक व्यवस्थालाई बदनाम बनाउँदैछ। गणतन्त्र ल्याएपछि पनि अपराधी राजनीतिमा छिरे भन्ने त जनतामा परिसक्यो।
यसो भन्दै गर्दा यो प्रवृत्तिले राजनीतिक व्यवस्था नै खत्तम भयो भन्ने त होइन। तर, जनतामा वितृष्णा चाहिँ जाग्छ। जनतामा वितृष्णा जाग्नु भनेको राजनीतिक दलप्रति ‘फ्रस्टेसन’ आउनु हो।
दलहरूले आफ्ना पार्टीमा पैसाको स्रोत खोज्ने, पैसाको स्रोतका लागि ठेकेदार खोज्ने, डनहरू भित्र्याउने, अपराधी भित्र्याउनेजस्ता काम गरिरहेका छन्।
पहिले र अहिले केही फरक भएन भन्ने हुन्छ। यसो हुनु त व्यवस्थाप्रति प्रश्न उठ्ने अवस्था आउनु हो। जब व्यवस्थामा प्रश्न उठ्छ, केही न केही उथलपुथल हुन सक्छ।
यसका लागि राजनीतिक दलहरूले गर्नुपर्ने तीनवटा काम छन्ः
१. दलहरूले पैसाको स्रोत खोल्नुपर्छ। को र कहाँबाट आएको पैसाले दलहरू चलिरहेका छन्? पारदर्शी हुनुपर्छ। अहिले राजनीतिमा डनहरू, ठेकेदारहरू र अपराधीहरूको प्रवेश पैसाको स्रोतसँग जोडिएको सम्बन्धले भएको हो।
२. दलहरू सञ्चालनका लागि बरु पैसाको स्रोत जुटाउनेबारे कानुन ल्याउनुपर्याे । केही देशमा दलहरूले पूँजीपतिबाट पैसा लिन पाउँदैन, डन र अपराधीहरूबाट लिन पाउँदैन। बरु राज्यले दिन्छ, दलहरूले पाउने मतका आधारमा। यो प्रणाली नेपालमा पनि जरुरी छ।
३. कुनै पनि अपराधी, डन र अनैतिक काममा लागेको मान्छेहरूलाई पार्टीमा भित्र्याउने काम गर्नु हुँदैन। त्यो बन्द गर्नुपर्छ। भित्र्याए निर्वाचन आयोगले मान्यता दिनुहुँदैन। आयोगले यस्ता मान्छे कार्य समितिमा भएको दललाई हामी मान्यता दिन्नौं भन्न सक्नुपर्छ। त्यसो गरे दलहरूले हटाउन त बाध्य हुन्छ।
तर, यति हुँदा नेपाली राजनीति सफा र संस्कारयुक्त त हुने होइन। थप त्यसमा दलहरूको नैतिक संस्कारको स्तर माथि उठ्नप¥यो। त्यसका लागि नैतिक संस्कारको लागि शिक्षा महत्वपूर्ण हुन्छ। हाम्रो त्यस्तो शिक्षा हुँदै भएन। पहिले सिकाइन्थ्यो नैतिकता। अहिले छैन। त्यहाँदेखि नै राजनीतिमा अपराधिकरणको सुरुआत भएको हो। अनैतिक मानिसहरूको राजनीतिमा प्रवेश भएको हो। यसो भन्नुको पछि हाम्रो शिक्षाका गडबढी छ भन्न खोजिएको हो।
जनताले पनि राजनीतिमा डन, अपराधी, अनैतिक व्यक्तिहरूलाई स्थापित गर्न सहयोगी भूमिका खेलेको देख्छु। दीपक मनाङेलाई सांसद बनाउने त जनता नै हो। गणेश लामालाई नेता बनाउने पनि जनता तै हुन्। जनताबाट अनुमोदन भएर आएका हुन्। अन्य पनि थुप्रै छन्। जो जनताबाट मत पाएर सांसददेखि मन्त्री भएका छन्।
जबकि हामी भन्न चाहिँ भन्छौं, ‘राजनीतिमा नैतिकवान मान्छे चाहियो।’ ठीक उल्टो अनैतिक मान्छेलाई भटाभट सार्वजनिक पदमा पुर्याएका छौं। यसमा त हामी जनताको पनि दोष छ। हामी पनि सच्चिनुपर्छ। टिकट दिने दल पनि सच्चिनु पर्छ।
(केन्द्रविन्दुकर्मी जङ्ग तामाङसँगको कुराकानीमा आधारित।)































प्रतिक्रिया