अनुसन्धान भन्छ-आधाभन्दा बढी अमेरिकीलाई तनावका कारण राति सुत्न असहज हुन्छ

अनुसन्धान भन्छ-आधाभन्दा बढी अमेरिकीलाई तनावका कारण राति सुत्न असहज हुन्छ

केन्द्रबिन्दु
0
Shares

तनाव राति मानिसलाई सताउने मुख्य समस्या भएको छ हिजोआज। अमेरिकन साइकोलोजिकल एशोसिएसनका अनुसार आधाभन्दा बढी अमेरिकीलाई तनावका कारण राति सुत्न असहज हुने गर्छ। 

प्रायले तनावसँग जुध्न खास केही गरेको पाइँदैन। यद्यपि, तनावका कारण हृदयाघात र स्ट्रोकजस्ता जटिल समस्या निम्तिन सक्ने भएकाले यसबाट जोगिनु नै उत्तम हुन्छ।

तनाव र एन्जायटी (चिन्ता) बाट बच्न माइन्डफुलनेस ध्यानको अभ्यास सहयोगी हुने नयाँ अनुसन्धानले देखाएको छ। साइकियाट्री रिसर्च नामको जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार एन्जायटीको समस्या भएका मानिसले माइन्डफुलनेसको अभ्यास गर्दा एन्जायटीको समस्या कम भएको पाइयो। कुनै पनि कुराप्रति उनीहरूको हर्मोनबाट चल्ने शारीरिक प्रतिकृयामा नियन्त्रण आएको पाइयो। उक्त अध्ययनमा माइन्डफुलनेसको अभ्यास गर्ने र नगर्ने दुवै वर्गका मानिसलाई समावेश गरी विश्लेषण गरिएको थियो।

‘ध्यान र माइन्डफुलनेसको अभ्यासमाथि चिकित्सा क्षेत्रमा ठूलो अविश्वास छ,’ उक्त अध्ययनकी मुख्य अनुसन्धाता एवं जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरकी सहप्राध्यापक डा. एलिजाबेथ होगले बताइन्। 

होग र उनका सहकर्मीको अध्ययन ध्यानले मानिसलाई सतही रूपमा राम्रो अनुभूति मात्र गराउँछ कि शरीरमा भएको तनावका सूचकमा केही ठोस र मापनयोग्य परिवर्तन ल्याउन सक्छ भन्ने प्रश्नमा आधारित छ। 

स्वस्थ वयस्क र भविष्यबारे सदा चिन्तित रहने एन्जायटीबाट ग्रस्त मानिस उक्त अध्ययनका लागि छनोट गरिएका थिए। अध्ययनमा संलग्नमध्ये आधालाई माइन्डफुलनेसमा आधारित तनाव व्यवस्थापन तालिम दिइयो। बाँकी आधालाई तनाव व्यवस्थापनको सामान्य तालिमका साथै खानपिन, व्यायाम, निद्रा र समय व्यवस्थापनबारे जानकार बनाइयो। 

‘माइन्डफुलनेसले उनीहरूलाई पहिलेभन्दा ऊर्जावान बनाउनेमात्र होइन, तनावको समयमा संयम हुन पनि सिकाएको पुष्टि भएको छ।’

यी दुवै किसिमका तालिम आठ हप्ताका लागि हरेक हप्ता साढे दुई घन्टाका दरले सञ्चालन गरियो र उक्त समयावधिभर दुवै तालिमका सहभागीलाई बराबर तालिम समय र गृहकार्यको व्यवस्था गरियो। 

माइन्डफुलनेसमा आधारित तनाव व्यवस्थापन तालिममा तनाव व्यवस्थापनमा सहयोगी रहेको पुष्टि भइसकेका ध्यानका पक्षबारे सहभागीलाई प्रशिक्षण दिइयो। श्वासप्रश्वासमा ध्यान दिने, आफ्नै शरीरमाथि निगरानी राख्ने र योग गर्ने जस्ता बानीको विकास गरी त्यस समूहलाई बिना कुनै पूर्वाग्रह वर्तमानमा रहन प्रोत्साहित गरियो। बौद्ध धर्ममा आधार भएको यस अभ्यासलाई अंगीकार गर्न कुनै पनि कुरामा विश्वास वा अविश्वास गर्नु आवश्यक नभएको होगले बताइन्।

उक्त तालिमको वास्तविक उद्देश्य सहभागीलाई सामूहिक माहोलमा आनन्दित महसुस गराउनुभन्दा पनि उनीहरूलाई एकैछिनमा गलाउने किसिमको तनावसँग जुध्ने शक्तिको विकास गर्नु रहेको थियो। तालिम सुरु हुनुअघि र सकिएपछि सहभागीलाई एउटा काम दिइएको थियो जुन तनाव सिर्जना गर्ने किसिमको कामको रूपमा प्रसिद्ध छ। त्यो काम थियो आठ मिनेट बोल्ने। त्यसपछि उनीहरूलाई सेतो ल्याब कोट लगाई हातमा क्लिपबोर्ड लिएका मानिसले मानसिक क्षमता जाँच्ने किसिमका प्रश्नहरू सोधे।

यी गतिविधि रेकर्ड गर्न राखिएको क्यामराका अगाडि हुने भएकाले पनि तनावका लागि लगभग प्राकृतिक स्थित सिर्जना गरिएको थियो। माइन्डफुलनेस समूहमा नरहेका मानिस यस किसिमको परीक्षणमा दोस्रो पटक सहभागी हुँदा बढी तनावग्रस्त रहेको तालिमकै बेला स्पष्ट भएको थियो। 

‘यहाँ हाम्रो उद्देश्य मानिसले तनाव नियन्त्रण गर्न सक्छन् भन्ने उनीहरूलाई महसुस गराउनु हो,’ होग्सले भनिन्। तालिमको माइन्डफुलनेसमा सहभागीले अर्को तालिममा सहभागी मानिसभन्दा कम तनावमा रहेको बताएको पाइयो। साथै माइन्डफुलनेस अभ्यासमा सहभागीमा तनाव सिर्जना गर्ने हर्मोनको मात्रा पनि अरुको तुलनामा कम भएको परीक्षणबाट पत्ता लाग्यो।   

‘माइन्डफुलनेसको अभ्यास गर्नेले उत्तेजित अवस्थामा पनि अरूभन्दा राम्रो गर्न सकेको रगतको परीक्षणले देखायो,’ होगले भनिन्, ‘माइन्डफुलनेसले उनीहरूलाई पहिलेभन्दा ऊर्जावान बनाउनेमात्र होइन, तनावको समयमा संयम हुन पनि सिकाएको पुष्टि भएको छ।’

संसारभर परिचित हुँदै गएको माइन्डफुलनेसमा आधारित तनाव व्यवस्थापन तालिमलाई अझ विश्वासिलो बनाउने महत्वपूर्ण भूमिका उक्त अध्ययनले निभाएको छ। खास गरी हस्पिटलमा यसको प्रयोग बढेको छ। साइकोथेरापी वा फार्मेसीको औषधी नरुचाउने तर तनावसँग जुधिरहेका मानिसका लागि माइन्डफुलनेस सहयोगी हुन सक्ने होगको निष्कर्ष छ। 

(टाइम म्यागजिनमा प्रकाशित उक्त लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्)

Logo