बागमती प्रदेशका तीन प्रहरी निलम्बित

बागमती प्रदेशका तीन प्रहरी निलम्बित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

आन्तरिक शुद्धिकरण अभियान अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले तीन प्रहरीलाई बुधबार निलम्बन गरेको छ ।

चितवनको नारायणगढ, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माइक्रोबस व्यवसायीका दलालमार्फत नारायणगढ, पुल्चोकमा डिउटीमा खटिएका प्रहरीहरुले पैसा लिने गरेको भन्ने प्राप्त सुचनाका आधारमा प्रहरीको संलग्नताका बारेमा अनुगमन एवं अनुसन्धान गर्न कार्यालयबाट सम्बन्धित स्थानमा खटाइएका प्रहरी अधिकृतको टोलीले अवैध रुपमा रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्ण सिंह रस्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानवीन गर्न हाललाई निलम्बन गरिएको कार्यालयले बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।

कार्यालयका अनुसार निलम्बित प्रहरीहरुको थप छानवीनका लागि कार्यालयले प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानवीन टोली समेत गठन समेत भइसकेको छ । उनीहरुलाई कार्यालयबाट खटिएका प्रहरी टोलीले रकम लिँदै गरेको अवस्थामा यही माघ ६ गते नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी प्रहरीको नाममा पैसा उठाउने कार्यमा संलग्न पाँच जना व्यक्तिहरुलाई कार्यालयले माघ ७ गते पक्राउ गरी अभद्र व्यवहार अन्तर्गत बुधबार मुद्दा दर्ता गरेको छ ।

 

Logo