‘संविधान क्याप्चर गर्नेहरुले कस्तो निर्वाचन गर्छन् ?’ : कांग्रेस नेता सिटौला

‘संविधान क्याप्चर गर्नेहरुले कस्तो निर्वाचन गर्छन् ?’ : कांग्रेस नेता सिटौला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले नेकपाको आन्तरिक झगडा व्यवस्थापन गर्न नसक्दा संसदमाथि त्यसको रिस पोखेको टिप्पणी गरेका छन् ।

संविधानमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै केपी ओलीले गिरिजाप्रसाद कोइराला, मनमोहन सिंह र शेरबहादुर देउवाको गल्ती दोहोर्‍याउन नपाउने सिटौलाको तर्क थियो ।

गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले सोमबार राजधानीमा गरेको अन्तक्रियामा सिटौलाले यस्तो बताएका हुन् । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगायत तत्कालिन प्रधानमन्त्रीले संसद विघटन गर्दा संविधानमा संसद विघटनको अधिकार राखिएको भए पनि अहिले त्यस्तो प्रावधान नभएको उनले बताए ।

यद्यपि पहिलेका संसद विघटनबाट पनि मुलुक अस्थिरतातर्फ गएको उनको तर्क थियो । यस्तै संसद विघटनको मुद्दाबारे संविधान अनुसार नै अदालतले व्याख्या गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

सिटौलाले भनेका छन्, ‘संविधानमा जे लेखेको छ, त्यसैका आधारमा अदालतले व्याख्या गर्नुपर्छ, अदालतले संविधानमा भएको व्यवस्था भन्दा बाहिरबाट निणर्य लिन्छ भन्ने मलाइ लाग्दैन, प्रधानमन्त्रीको खुसीमा संसद विघटन गर्ने स्वेच्छापूर्ण व्यवस्था संविधानमा छैन ।’

सिटौलाले सोधेका छन्, ‘संसद विघटनले वैधानिकता पाए देशको अवस्था के हुन्छ ? लोकतन्त्रको अवस्था के हुन्छ ? अदालतले सदर गरे प्रहरी प्रशासन, निर्वाचन आयोगले के गर्छ ? संविधान क्याप्चर गर्नेहरुले कस्तो निर्वाचन गर्छन् ?’

तर संसद विघटनले वैधानिकता पाएको खण्डमा देश दुर्घटनातर्फ जाने भन्दै कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई कांग्रेसले नै फ्रन्टलाइनमा बसेर जोगाउनु पर्ने पनि बताए ।अन्नपूर्णबाट

Logo