धुलिखेल अस्पतालमा सातजना आइसोलेशनमा, २३ जना क्वारेन्टाइनमा

धुलिखेल अस्पतालमा सातजना आइसोलेशनमा, २३ जना क्वारेन्टाइनमा


काभ्रे ।

सिन्धुपाल्चोकको बाह्रविसे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनका परिवारसहित सातजनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको जनाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार उनीहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने कार्य भइरहेको छ ।

यसैगरी धुलिखेल अस्पतालमा रहेको क्वारेन्टाइनमा १० जनासहित अरू विभिन्न स्थानबाट आएका २३ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको र उनीहरुको कोरोना परीक्षण भइरहेको डा झाले बताए ।

यसैबीच कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक एवं काभ्रेका प्रजिअ श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा शववाहन नभएको हुँदा बनेपास्थित शिर मेमोरियल अस्पतालमा नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त भएको एम्बुलेन्सलाई शववाहनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकका २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएपछि शवको व्यवस्थापन तथा दाहसंस्कारका लागि लैजान शववाहन नपाएपछि आइतबार बसेको बैठकले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको अवस्थामा शवको व्यवस्थापन तथा दाहसंस्कारका लागि शिर मेमोरियल अस्पतालमा नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त भएको एम्बुलेन्सलाई शववाहनका रुपमा प्रयोग गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा झाले बताए ।रासस

Logo