काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को जरिवाना असुल्न सुरु गरेको छ। उपत्यकाका दुई सय स्थानमा दश हजार रुपैयाँ जरिवाना तिराउने लेखिएका बोर्ड टाँसिएपनि कारण भने खुलाइएको छैन। जसका कारण सवारी चालक नै ससंकीत भएका छन्। सवारी तथा यातायात ऐन २०४९ मा अर्कै नम्बर प्लेट राखी सवारी चलाउनेलाई ६ महीनासम्म कैद र पाँचदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ।
चालकलाई सचेत बनाउने भन्दै महाशाखाले यही कानुनका आधारमा चर्को जरिवाना शुल्क उठाउन थालेको हो। सवारी साधनको पार्टपूर्जा परिवर्तन (मोडिफाइड) गर्ने, स्टिकर टाँस्ने, तिव्रगतीमा सवारी चलाउने लगायतलाई पनि महाखाशाले यसै कानुनभित्र रहेर कारबाही सुरु गरेको हो। ऐनको परिच्छेद–१० मा सजाय सम्बन्धी व्यवस्था अनुसार ट्राफिक संकेत उलंघन गर्ने, निषेध गरिएको ठाउँमा सवारी रोक्ने, साइडलाइट नबाल्ने, गलत साइड र एकतर्फी सडकमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनले लगायत नियम उल्लंघन गरेमा पाँचसयदेखि एक हजार पाँच सयसम्म जरिवाना तिराउने व्यवस्था छ।
पहिलो पटक नियम उल्लंघन गर्नेलाई पाँच सय रुपैयाँ, दोस्रो पटक उलंघन गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक उलंघन गर्नेलाई एक हजार पाँच सय रुपैयाँ जरिवाना गर्नेछ। महाशाखाका एसएसपी भीमप्रसाद ढकालले उपत्यकाभर ट्राफिक उल्लंघन गर्नेलाई जरिवानाको शिर्षक हेरेर कारबाही गरिने बताए । मोडिफाइड गरिएका सवारी गुडाउनेलाई प्रहरीले अनिवार्य १० हजार जरिवाना तिराउने उनले बताए।
जरिवानाका साथै एक घण्टा सचेतना कक्षासमेत दिने बताइएको छ। चालकलाई सचेत र जरिवानाबाट बचाउनको लागि ठाउँठाउँमा जरिवाना लेखिएका बोर्ड राखिएको प्रहरीले जानकारी दिएको छ। ‘हाम्रो उद्देश्य दश हजार नै तिराउने होइन, चालकलाई जिम्मेवार र होसियार बनाउनु हो,’ उनले भने, ‘दुई महिनायता यो नियम कार्यान्वयन गराउन थालेका छौं , अहिले व्यवस्थित हुँदै गएको छ। सबै चालक होसियार भएका छन् नियम उलंघन गर्ने केही कारबाहीमा पनि परेका छन्।’
नागरिकबाट





























प्रतिक्रिया