पोखरा ।
अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन्।
त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको व्यवसायीले बताए। हिमपहिरो आएपछि खोजतलास र उद्धारका लागि ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले सदस्य विजय केसीको नेतृत्वमा सातजना खोजीकर्ता पठाएको थियो । ती खोजीकर्ताका अनुसार पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको र ६,७ फिटसम्म हिउँ थुप्रिएकाले हराएका व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था छैन ।
गत शुक्रबारको हिमपहिरोमा चारजना कोरियाली र तीनजना नेपाली गाइडसहित सातजना हराएका छन् । ती मध्ये नेपाली गाइडहरुमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोटे रहेको टानले जनाएको छ। खोजीमा खटिएका टानका सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको र बाक्लो हिउँका कारण पहिरोस्थलमा पुग्नै कठिन छ। कठिन साथ पहिरोस्थल पुगे पनि खोजतलास सहज नभएको उनले बताए। स्थानीय र टानका खोजीकर्ता मात्र अहिलेसम्म घटनास्थल पुगे पनि खोजी सम्भव नभएपछि पोखरा फर्केको छ।
नागरिकबाट





























प्रतिक्रिया