सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन् । हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन् । ठक्करबाट दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै रूपन्देहीका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुँदा  बुटवल–३, गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नम्बरको मोटरसाइकल नयाँगाउँको मिलनपार्क नजिक शुक्रबार बिहान अनियन्त्रित भएर पल्टिँदा अधिकारी गम्भीर घाइते भएका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएकोमा त्यही शुक्रबार बिहान उनको मृत्यु भएको हो  ।

यस्तै, बुटवल मण्डप अगाडि लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिंदा घाइते अन्दाजी ५५ वर्षीय पुरुषको ज्यान गएको छ ।

Logo