मोदी तयार नबन्दा ईपीजीको प्रतिवेदन वर्ष दिनदेखि दराजमै

मोदी तयार नबन्दा ईपीजीको प्रतिवेदन वर्ष दिनदेखि दराजमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तयार नहुँदा अल्झनमा परेको छ । प्रबुद्ध व्यक्ति समूहले तयार पारेको साझा प्रतिवेदन तयार भएको एक वर्षमा पनि भारतका प्रधानमन्त्रीले बुझ्न इन्कार गरिरहेका छन् । ईपीजीले नेपाल र भारतबीच भएका सम्पूर्ण सन्धि, सम्झौता र सहमतिको अध्ययन–अनुसन्धान गरी पुनरावलोकनका लागि सुझावसहितको साझा प्रतिवेदन तयार पारेको छ ।

नेपालको प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउन ईपीजी सदस्यले धेरैपटक प्रयास गरे तर मोदीको समय नै पाउन सकेका छैनन् । साझा प्रतिवेदन तयार पारेको प्रबुद्ध समूहका सदस्यहरूले भने आफ्नो काम पूरा भएको तर दुई देशका प्रधानमन्त्रीलाई बुझाउन नपाएको बताए ।

साझा प्रतिवेदन तयार भएको पनि एक वर्ष पूरा भएको र यसलाई भारतले कहिले बुझ्छ भन्ने अझै टुंगो लागिनसकेको प्रबुद्ध व्यक्ति समूह नेपालका सदस्य डा. भेषबहादुर थापाले बताए । ‘दुईवटा पक्षले साझा सहमति खोजेर अन्तिम बिन्दुमा पु¥याएर हस्ताक्षर भइसकेको छ,’ डा. थापाले भने, ‘अब दुई देशका प्रधानमन्त्रीले कहिले बुझ्छन्, त्यो भन्न सक्ने अवस्था छैन ।’

सदस्यबीच प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति गरेकाले प्रतिवेदन नेपालका प्रधानमन्त्रीले पनि बुझ्न पाएका छैनन् । ‘व्यस्तताका कारण भारतीय प्रधानमन्त्री मोदीले बुझ्न नसकेको भारतीय पक्षले बताउँदै आए पनि भित्री कारण भारतीय ‘ब्युरोक्रेसी’ले प्रतिवेदन नरुचाउनु नै रहेको बुझिन्छ,’ समितिका एक सदस्यले भने । एकातर्फ भारतीय ‘ब्युरोक्रेसी’ले प्रतिवेदन बुझ्ने वातावरण नबनाइरहेका बेला भारतको विहार प्रदेशले पनि केही समय अघि दुई देशको प्रबुद्ध समूहले बनाएको प्रतिवेदन मान्न नसक्ने भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराइसकेको छ ।
राजधानीबाट

Logo