काठमाडौं,
सङ्घीय संसद्का सभापतिहरूका लागि भएको गाडी खरिदको विषयमा छानबिन गर्न गठित समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरेको छ । समितिको सोमबार बसेको पहिलो बैठकले खरिद प्रक्रियाका कागजात सङ्घीय संसद् सचिवालयसँग माग गरेको हो ।
सोमबार नै सबै कागजात उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन पनि दिएको छ । नयाँ गाडी खरिदपछि हस्तान्तरणको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो ।
छानबिन समिति संयोजक एवं राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले खरिद सम्बन्धी सबै कागजात माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खरिद प्रक्रियाका सबै कागजात आजै उपलब्ध गराउन भनेका छौँ । स्पेसिफिकेसनका कागजात पनि माग गरेका छौँ । सचिवालयले दिनुपर्ने कागजात आज नै उपलब्ध गराउन भनेका छौँ ।”
समितिले प्राविधिक र खरिदका विषयमा छानबिनका लागि प्राविधिक जनशक्तिसमेत दुई निकायबाट माग गरेको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट एक मेकानिकल इन्जिनियर र सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट एक सहसचिव माग गरेको छ । दुवै निकायलाई दुई दिनभित्र जनशक्ति सिफारिस गर्न समितिले आग्रहसमेत गरेको छ ।
सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । जसमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–फाइभ स्कार्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया