प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वास्थ्य रहेको बताएका छन् ।
आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरुसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री ओलीले एकछिन बिरामी भएर सुत्दा सञ्चारमाध्यमले हाँगा हालेर समाचार लेखेको बताएका छन्।
‘म सिकिस्तै भएको खबर सुनेर आउनु भएको होला । म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन। एउटा सिटामोल खाइदिएपछि सबै निको भयो’, उनले भने, ‘हिजो ९९ देखि १०० डिग्री ज्वरो आएर एकछिन् आराम गरेको थिएँ। बाहिर त हाँगा हालेर खबर आइसके छन्।’
प्रधानमन्त्री ओलीले भने, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो?’ आफ्नो प्रतिक्षा गरिरहेका झापा क्षेत्र नं. ५ का अगुवा कार्यकर्तालाई पार्टी सचिवालयको बैठकको अध्यक्षता गर्न जानुअघि संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्।
उनले आफू १५ वर्षअघि बिरामी भए पनि अहिले तन्दुरुस्त रहेको जिकिर गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे सरोकार राख्ने शुभचिन्तकसँग ढुक्क रहन भने, ‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भने, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०–२५ वर्ष केही हुँदैन भन्छन्। त्यस कारण म बिरामी होइन ।’





























प्रतिक्रिया