संसद् पनि सडक जस्तै रहेछ !

संसद् पनि सडक जस्तै रहेछ !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
विद्यार्थीले संसद्को काम कारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन्। तिनै विद्यार्थी सोमबार संघीय संसदमै आइपुग्दा उत्साहित थिए । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो । उनीहरू त्यस अगावै दर्शकदीर्घामा बसिसकेका थिए । उनीहरूका हातमा नोटबुक थियो ।

सदन सुरु भयो । राष्ट्रिय गान बज्यो । सभामुख, मन्त्री र सांसद उठे । दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे । राष्ट्रिय गान सकिए लगत्तै सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही अगाडि बढाउन खोजे । त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा सांसद जर्‍याकजुरुक्क उठेर बेल घेराउ गर्न पुगे । उनीहरू ‘संंसदीय सर्वोच्चता कायम गर, संसदीय समिति गठन गर’ भन्ने नारा लगाउन थाले । यो दृश्य देखेर विद्यार्थीहरू मुखामुख गर्न थाले । कतिपय अलमलमा परे । कतिपय हतास देखिन्थे । कोही अब के हुने हो भन्दै आत्तिए ।

सभामुख महराले पटक–पटक विपक्षी सांसदलाई बस्न आग्रह गरे । तर प्रतिपक्षी दलको विरोध जारी रह्यो । करिब ४० मिनेट नाराबाजी चल्यो । अन्ततः सभामुखले बैठक स्थगन गरे । कानुन बनाउने संसद्को गतिविधि देखेर विद्यार्थी निराश बने । केहीले संसद् भवनलाई पनि सडकको संज्ञा दिए ।

नवयुग मावि, नाइटिंगल लगायत चार विद्यालयका विद्यार्थी थिए । अरू विद्यार्थी फर्किए पनि नवयुगका भने संसद् बैठक अवरुद्ध हुनुको कारण बुझ्न केही समय त्यहीं अडिए । सत्तारुढ दल नेकपाका उपनेता सुवास नेम्बाङ बैठकबाट बाहिरिए । उनीहरूले नेम्बाङसँग प्रतिनिधिसभा गठन प्रक्रियादेखि यसले गर्ने कामबारे जिज्ञासा राखे ।

‘प्रतिनिधिसभा गठन कसरी हुन्छ ? ’, कक्षा १० की छात्रा रोमा चौधरीले सोधिन् । कक्षा ९ का छात्र खेमराज रायमाझीले ‘संसद् बैठक किन अवरुद्ध भयो’ भनी प्रश्न गरे । उनीहरूले एकपछि अर्को गरी आधा दर्जन प्रश्न नेम्बाङ सामु तेस्र्याए ।

‘प्रतिपक्षीप्रति सम्मान व्यक्त गर्दै त्यो जो सुकैले गरेको होस्, हिजो हामी प्रतिपक्षीमा हुँदा हामीले गरेको होस्, अथवा आज प्रतिपक्षीले गरेको होस्, जनताको बोली थुन्ने काम भएको छ । यो बेठीक भएको छ’, छेउमै रहेका प्रदीप गिरिलाई देखाउँदै उनले संसदमा भएको नाराबाजीबारे भने, ‘गिरिजीहरूले गरेको काम पनि गलत हो । त्यस्तो कुरा नहोस् । हामी सबैले बुझ्नुपर्छ ।’

विद्यार्थीले कांग्रेस सांसद गिरिसँग पनि प्रश्न सोधे । उनले छोटो जवाफ दिए, ‘सदन अवरुद्ध हुनुहुँदैन भन्नेमा म पनि हो।’ विद्यालयमा सरले ‘संसद् कानुन बनाउने थलो हो र जनताका प्रतिनिधिले सार्वजनिक चासोका विषयमा सदनमा कुरा उठाउँछन्’ भनेर पढाएका थिए तर संसदको दृश्य भने अर्कै थियो ।
अन्नपूर्णबाट

Logo