भद्रपुर,
झापाको बिर्तामोडका एकजना व्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवतीसहित चारजनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । युवतीलाई प्रयोग गरेर (हनी ट्रयापिङ) व्यवसायीलाई बन्धक बनाई ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।
घटना विवरण अनुसार असार २८ गते बिर्तामोडका नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट ’इमो’ मा फोन गरी मिठो स्वरमा माया जालमा पारी दुबैबीच परिचय भएको थियो । मिठो स्वरमा फोन गरेकी युवतीबाट ती व्यवसायी प्रभावित भएपछि दुवैबीच घनिष्टता बढ्दै गयो । मोबाइल नम्बरमा, इमो, भाइबर र ह्वाट्सएप चारैतिर उनीहरूको सम्पर्क भयो । उनीहरूबीच प्रेमका कुरा चले, यौनका विषयमा पनि उनीहरू खुला भए ।
साउन १ गते युवतीले आफू बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई भेट्ने इच्छा देखाएर फोन गरिन् । युवतीले भेट्न बोलाएपछि व्यवसायी पनि उनले बताएको स्थानमा पुगे । अन्दाजी १९–२० वर्षकी ती युवतीलाई भेट हुने बित्तिकै व्यवसायीले होटल जाने प्रस्ताव गरे । असुरक्षा हुने भन्दै युवतीले त्यो प्रस्ताव अस्वीकार गरेपछि भद्रपुर रोडमै साथीको कोठा भएकोले त्यहीँ जाने प्रस्ताव युवतीले राखिन् । उनीहरू कोठामा पुग्दा त्यहाँ कोही थिएनन् । बेलुका ८ बजे उनीहरू ढोकामा चुक्कुल लगाएर बसेका थिए ।
यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो । ढोका खोल्नासाथ हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले । छुरा र प्लास्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो । नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेका मध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन् । त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरिसकेका हुन्छन् । साउन ५ गतेसम्ममा ४० लाख रुपैंयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ । यति गर्दा रातको १० बजेको हुन्छ । रकम जम्मा हुँदै गरे नगरेको बारेमा लगातार उनीहरूले ताकेता गरिरहेका हुन्छन् । पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरूले दिएका हुन्छन् ।
आफ्नै बेवकुफीबाट फसेका ती व्यवसायीको त्यति ठूलो रकम दिने अवस्था थिएन । उनले दुईवटा बाटो देखे कि ज्यानको माया मार्ने कि प्रहरीलाई खबर गर्ने । उनले दोस्रो विकल्प रोजे ।व्यवसायीले इलाका प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण बताउँछन् । त्यसपछि प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगायो । र, भित्रभित्रै घटनामा संलग्नहरूको खोजी सुरु गर्यो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया