जनकपुर,
धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा वैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो । सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बाहाना बनाई खाजा वितरणमै ढिला गरियो । आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा खाजा वितरण त सुरु गरियो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरिएको एक शिक्षकको आरोप छ ।
‘एक त गत साउनेखि नै सुरु हुनुपर्ने खाजा वितरण कार्यक्रम अन्तिम तीन महिना मात्र बाँकी रहँदा विद्यालयमा आयो,’ द्वारिका आधारभूत विद्यालयका ती शिक्षकले भने, ‘नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलालबीच कमिसनको भागबन्डा नमिल्दा तीन साता नपुग्दै रोकियो ।’
विद्यार्थीले खाजा नखाएको दिन पनि गन्ती गरेर बजेट निकासा गर्न खोज्ने र त्यस्तो गल्ती काममा साथ नदिने पक्षबीचको विवादले माथिबाट समयमै पठाइएको खाजा पनि बालबालिकाले उपभोग गर्न नपाएको ती शिक्षकले बताए ।
सबैला नगरपालिकाकै एक प्राथमिक विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यालयले खाजा वितरण सुरु गरेको भन्दा कम्तीमा दुई महिना पहिलेदेखिको कागजात तयार गर्न नगर शिक्षा समितिले दबाब दिएको छ । खाता वितरण नभएको महिनाको रकम नगर प्रमुख, उपप्रमुख, नगर शिक्षा समितिका संयोजक, शिक्षा शाखा प्रमुख र सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले भागबन्डा गर्ने स्रोतको दाबी छ । यसैका लागि यस्तो दबाब आएको हो ।
‘पाँच माविसहित २५ वटा सामुदायिक विद्यालय रहेको सबैला नगरपालिकाका लागि मात्रै अढाई करोड भन्दा बढी रकम खाजाका लागि आएको छ,’ स्थानीय एक शिक्षकले भने, ‘यति धेरै रकम फ्रिज हुनुभन्दा समयमै खाजा वितरण सुरु गरौं भनेर बारम्बार ताकेदा गर्दा नगरप्रमुखदेखि शाखा प्रमुखसम्मले ध्यान दिएनन् । अहिले विद्यार्थीलाई वितरण गरेभन्दा बढीको नक्कली कागजात तयार पार्ने तारतम्य मिलाएको सुनिएको छ ।’
नागरिकबाट





























प्रतिक्रिया