बुटवल,
प्रदेश ५ को अस्थायी मुकाम बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्यतया दैनिक तीन सय बिरामी उपचारार्थ आउने गर्थे । गर्मी बढेसँगै अहिले बिरामीको संख्या छ देखि सात सयसम्म पुग्ने गरेको छ । बढेका अधिकांश बिरामी गर्मीजन्य रोगबाट प्रभावित छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण खनालका अनुसार अस्पतालमा अहिले गर्मीजन्य रोगका बिरामी बढिरहेका छन् । त्यस्ता बिरामीमध्ये झाडापखाला, छाला, निमोनिया, रुघा लगायतका बढी छन् । गर्मी बढेसँगै पानी परेमा बिरामीको संख्या अझ बढ्नेछ । पानी परेमा खानेपानीका मुहानहरु प्रदूषित हुनेछन् । त्यतिबेला साबधानी नअपनाए छालारोग, झाडापखाला लगायतका बिरामी झन् बढ्न सक्नेछन् ।
बुटवलसँगै अन्यत्रका अस्पतालमा पनि बिरामी खचाखच छन् । अन्य प्रदेशका तराई मधेस क्षेत्रका अस्पतालमा पनि बिरामी बढेका छन् । गर्मी अचाक्ली बढेपछि स्वास्थ्यसँगै आममानिसको जनजीवन प्रभावित भएको छ । खानेपानीका मुहान सुकिरहेका छन् । तरकारी लगायत कृषिजन्य बोटबिरुवा सुकिरहेका छन् । मानिसहरु शहर तथा बजार र सडकमा हिंड्डुल गर्न सकिरहेका छैनन् ।
गर्मी बढेसँगै धेरै स्थानमा बिद्युत आपूर्ति अनियमित हुँदा सर्वसाधारण बढी मर्कामा परेका छन् । चिसो पेय पदार्थ र विद्युत सञ्चित गर्ने उपकरणको बिक्री वितरण ह्वात्तै बढेको छ ।
जताततै प्रभाव
एक साता यता प्रदेश ५ सँगै सबै प्रदेशमा गर्मीको प्रभाव बढेको छ । खासगरी तराई क्षेत्रमा गर्मीको प्रभाव बढेको हो । मौसम पूर्वानुमान महाशाखा काठमाडौँका अनुसार आगामी तीन दिनसम्म तराईमा पानी पर्ने सम्भावना देखिँदैन । महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार तीन दिनभित्र पहाडी जिल्लामा भने अपराह्नतिर सामान्य वर्षासँगै मेघगर्जन र चट्याङ पर्ने पूर्वानुमान छ । तराई मधेस क्षेत्रमा तत्काल मौसममा सुधार आउने संकेत नभएकाले गर्मीजन्य समस्याप्रति सचेत हुनुपर्छ ।
महाशाखाका अनुसार बुधबार देशभर सबैभन्दा बढी गर्मी धनगढीमा, दोस्रोमा नेपालगञ्ज र तेस्रोमा भैरहवामा थियो । यो दिन ती क्षेत्रमा तापक्रम क्रमशः ४२.४, ४२ र ३९.१ डिग्री थियो । त्यस्तै काठमाडौं उपत्यकामा यो वर्ष मंगलबार सबैभन्दा धेरै अर्थात ३२.६ डिग्री तापक्रम पुग्यो ।
प्रदेश ५ मा रुपन्देही, कपिलबस्तु, पश्चिम नवलपरासी, दाङ, बाँके, बर्दिया लगायत गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान लगायत पहाडी जिल्लामा समेत खानेपानीका मुहान सुकिरहेका छन् । यी जिल्लाका वनमा डढेलो लागिरहेका कारण तापक्रम अरु बढिरहेको छ । बुटवल, भैरहवा, नेपालगञ्ज लगायत शहरमा खानेपानीको समस्या देखिन थालेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया