सर्लाही,
नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ ।
सडक छेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको बा १९ च २५८८ नम्बरको स्कारपियोले अनियन्त्रित भइ ४० वर्षीय जयसी राय र उनका छोरा १० वर्षीय छोरा लक्ष्मण रायलाई ठक्कर दिएको थियो । दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते जयसीलाई उपचारका लागि हरिवनतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
तीव्रगतिमा रहेको जीप बाउछोरालाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकबाट ८१ फिट पर पुगेर पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ । जिपले बाबुछोरालाई ठक्कर पश्चात सडकबाट ४२ फिट परसम्म घिसारेर लगेको थियो ।
दुर्घटनामा परेको जीप क्षतविक्षत बनेको तथा चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले स्थानीयले बाबुछोराकै शव राजमार्गमै राखेर चक्काजाम गरिरहेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया