बारा
अवैध तरिकाले नेपाल भित्र्याइँदै गर्दा ठूला परिमाणका मालवस्तु बरामद हुने क्रम ह्वात्तै बढेको छ । भारतसँग खुला सिमानाको फाइदा उठाउँदै तस्करीमा संलग्न हुनेहरूले दिनदिनै ठूलो परिमाणमा भन्सार छलीको मालवस्तु नेपाली बजारमा भित्र्याउने गरेका छन् ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढले केही दिन पहिले पटकपटक गरी १२ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको मालवस्तु थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ । सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले भारतसँग जोडिएको खुला नाकाबाट तस्कर समूहहरूले मोटरसाइकल प्रयोग गरी अवैध मालवस्तु नेपाल भित्र्याउने गरेको बताए ।
ती मोटरसाइकलसहित वीरगन्ज भन्सार कार्यालयमा थप कारबाहीका लागि पठाइएको मालवस्तुमा रेडिमेड कपडा, कस्मेटिक मामग्री, जुत्ताचप्पल, किराना समान, हार्डवेयरका सामान लगायत रहेको र त्यसको मूल्य ८ लाख रुपैयाँभन्दा बढी रहेको उनको भनाइ छ । वैशाख ४ गते दुईवटा ट्याक्टरको टेलरमुनि लुकाएर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध कपडासहित ट्याक्टरलाई सशस्त्र प्रहरी बलको बिओपी बरैनियाले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलको नेतृत्वमा रहेको टोलीले ना १ त ७७६० र ना ४ त ३३२८ नम्बरको ट्याक्टरको टेलरमुनी लुकाइ नेपाल भित्र्याउँदै गरेको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसमा १६० थान सुट, सर्टको कपडा २० रोल, ४६ थान सुटिङको कपडा रहेको सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलले बताए । खुडिया टोलमा चेकजाँचका क्रममा बरामद कपडाको बजार मूल्य १० लाख ७६ हजारको रहेको उनको भनाइ छ । ट्याक्टरलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको उनले बताए।
नागरिकबाट





























प्रतिक्रिया