सरकारको सवा १७ अर्ब बचत

सरकारको सवा १७ अर्ब बचत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारको १७ अर्ब रुपैयाँ बचतमा छ । नेपाल राष्ट्र बैंकको ६४ औं स्थापना दिवसका अवसरमा उक्त कुरा बताइएको हो । बैंकका अनुसार गत चैत मसान्तसम्म बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति १७ अर्ब २९ करोड रुपैयाँ बचत भएको हो ।

बैंकका अनुसार संघीय सरकारको कूल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड रुपैयाँ छ । त्यसमध्ये चालु खर्च ४ खर्ब ४७ अर्ब ५५ करोड र पुँजीगत खर्च १ खर्ब ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । चैत मसान्तमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) १९.५ प्रतिशतले वृद्धि भएको हो । ६ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ३० खर्ब ९ अर्ब रुपैयाँ र कर्जा लगानी २७ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । सात सय २४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत छ। मुद्रास्फीति अघिल्लो चैतमा ५.३ प्रतिशत थियो ।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको बैंकसँग तथ्यांक छ । बैंकले खाता बढेर १ खर्ब ९१ अर्ब १२ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ । शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ । कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ६१ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।
अन्नपूर्णबाट

Logo