पराकम्पनले ठूलो भूकम्पको जोखिम कम : पश्चिम नेपालमा भने खतरा

पराकम्पनले ठूलो भूकम्पको जोखिम कम : पश्चिम नेपालमा भने खतरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ ।

काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो ।

केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्नुहुन्छ, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुग्दैछ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन । संयोग मात्रै हो ।’’

पश्चिममा महाभूकम्पको खतरा

नेपालको पश्चिम क्षेत्रमा भूकम्प जान्छ भनेर भूकम्पविद्हरूले सचेत गराइरहेका छन् । त्यो भूकम्प कति समयपछि कुन मात्राको जान्छ भनेर भन्न नसकिने विज्ञहरूको भनाइ छ । नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रको अध्ययन गर्दा मध्य नेपालमा ८० देखि सय वर्षको अवधिमा ठूला भूकम्प गएको पाइन्छ ।

सिस्मोलोजिस्ट भट्टराईका अनुसार, ‘‘ पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । कति वर्षपछि फेरि अर्को भूकम्प जान्छ भनेर भन्न सक्ने तथ्याङ्क छैन । विभिन्न अध्ययनका अनुसार, पश्चिम नेपालमा धेरै शक्ति सञ्चय भएको देखाउँछ, यस क्षेत्रमा महाभूकम्प जाने सम्भावना छ ।’’

४५ हजारभन्दा बढी परकम्पन

सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाका अनुसार, २०७२ वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्प जानु भन्दा अघि पनि नेपालमा भूकम्प गएका थिए । विगत चार वर्षमा चार रेक्टर स्केलभन्दा माथिका जम्मा ५२० वटा परकम्पन गएका छन् । सबै पराकम्पनको सङ्ख्या भने ४५ हजार भन्दा बढी पुगेको छ । ठूला भूकम्प गएपछि त्यसको आफ्नो क्षेत्रमा साना भूकम्प जाने गर्छन् । गोरखा भूकम्प गएपछि पराकम्पन आउने क्रम तीन गुणाले वृद्धि भएको छ ।
गोरखापत्रबाट

चार वर्षमा गएका भूकम्प र परकम्पन
४ रेक्टरभन्दा तल ४६ हजार ६२६
४ देखि ५ रेक्टर एक हजार ४७
५ देखि ६ रेक्टर १३५
६ देखि ६.५ रेक्टर ६
७ रेक्टरभन्दा माथि
(गोरखा भूकम्प) १
स्रोत : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

Logo