आज वालाजु बाइसधारामा मेला

आज वालाजु बाइसधारामा मेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज वैशाख ६ गते शुक्रबारका दिन बालाजु बाइसधारामा मेला लाग्दैछ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारामा मेलाको तयारी पूरा भएको छ ।

बाइसधारा मेला समितिका संयोजक निरन्जन बस्नेतले काठमाडौंको बालाजुमा रहेको बाइसधारा धार्मिक, सांस्कृतिक, पर्यटकीय, ऐतिहासिक हरेक दृष्टिले महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मेलामा २ लाख तीर्थयात्री आउने अनुमान गरेको बताए । यसको सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले केही बजेट दिने गरेको उनको भनाइ छ ।

काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले उपत्यकाको मुटुमा रहेको यस स्थानमा प्रत्येक वर्षको चैत्र शुक्ल पूर्णिमाको विशेष मेला लाग्ने बताउँदै हाल यस उद्यान ओझेलमा परेको बताए । यसको समग्र विकासका लागि काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

बाइसधारामा स्नान गरेर जामाचोमा गएर मेला भर्ने प्रचलन भएको उल्लेख गर्दै जामाचोबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यसको विशेष महत्व रहेको उनले उल्लेख गरे ।

राजाले बूढानीलकण्ठमा रहेको नारायणको मन्दिर दर्शन गर्न नहुने परम्परा भएकाले यस स्थानमा नारायणको मन्दिर स्थापना गरेको पौराणिक कथन रहेको छ । यस स्थानमा रहेको नारायण मन्दिर उद्यान काठमाडौंका मल्ल राजा प्रताप मल्लले निर्माण गरेका हुन् ।

धार्मिक किंवदन्ती अनुसार यस दिनमा मेला स्नान गर्नाले शरीरमा भएको रोगब्याधी हराउने तथा परिवारमा सुख शान्ति कायम हुने विश्वास छ ।

Logo