रेल किन्‍न बजेट छैन

रेल किन्‍न बजेट छैन


काठमाडौँ

सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडि रहेपनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । दुईवटा रेल खरिद गर्न ५० करोड रुपैयाँ अपुग हुने विभागका महानिर्देशक बलराम मिश्र बताउँछन् । ‘विनियोजित बजेटले एउटा रेल खरिद गर्न सकिन्छ । तर नियमित रेल सञ्चालन गर्न दुईवटा इन्जिन आवश्यक पर्छ’, महानिर्देशक मिश्रले भने, ‘त्यसैले थप रकम माग गरेका छौं । रकम उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालय सकारात्मक छ ।’

मन्त्रिपरिषद्ले गत पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई रेल खरिदका लागि सैद्धान्तिक सहमति प्रदान गरेको थियो । मन्त्रिपरिषदबाट सहमति प्राप्त भएसँगै रेल खरिद प्रक्रिया अघि बढेको विभागले जनाएको छ । विभागको आन्तरिक स्रोत परिचालन गरेर पनि रेल खरिद गर्न सकिने र यसका लागि अर्थ मन्त्रालयले सोधभर्ना गर्न सक्ने उनले बताए । दुईवटा रेल खरिद गर्न भ्याटबाहेक ८० देखि ९० करोड रुपैयाँ लाग्ने विभागको अनुमान छ । दुई रेल र त्यसमा रहने पाँचदेखि १० वटा डिब्बाका र पार्टपुर्जाका आधारमा रकम घटबढ हुनेछ ।
अन्नपूर्णबाट

Logo