नक्कली नोट छाप्ने दुई जना पोखराबाट पक्राउ

नक्कली नोट छाप्ने दुई जना पोखराबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर १०० को एनसेलको रिचार्ज कार्ड खरीद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

ग १४ प २५४ नं.को मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको बताउँदै उहाँले उनीहरुले पोखराको विभिन्न २०० स्थानमा नोट साटेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक÷एक थानसहित एक हजार दरका १९ थान नक्कली नोट र एक लाख २८ हजार ४३० नेपाली रुपैयाँ र एक हजार भारतीय रुपैयाँ लगायत अन्य सामग्री फेला परेको छ ।

लागुऔषध सहित तीन पक्राउ

पोखरा महानगरपालिका वडा नं १० बुद्धचोकबाट ३६० थान अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखरा– १० रामघाट बस्ने ३२ वर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई गाउँपालिकाका २४ वर्षीय चन्द्रकान्त थारु चौधरी र पोखरा– ९ शिवटोल बस्ने २५ वर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट लागुऔषध नर्फिन १२०, फेनारागन १२० र डाइजापाम १२० थान पक्राउ गरेको प्रहरीले जनाएको छ । मुद्रासम्बन्धी कसुर र लागुऔषध मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।
रासस

Logo