काठमाडौँ
जलविद्युत् उत्पादनमा कर्णाली प्रदेश निकै पछाडि परेको देखिएको छ । नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाटलाई मान्दा कर्णाली प्रदेशले औसत ११ हजार ८ सय ३ मेगावाट जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता राख्छ । तर हालसम्म सो प्रदेशको जम्मा उत्पादन भने ३.८ मेगावाट मात्र रहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
‘सो प्रदेशमा हालसम्म ३.८ मेगावाटको द्वारीखोला जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ,’ उनले भने, ‘३३ केभीको मात्र प्रसारणलाइन भएको सो प्रदेशमा हालसम्म विद्युत् खपत समेत बढ्न सकेको छैन ।’ हाल कर्णाली प्रदेशमा कुल १० मेगावाट मात्रै विद्युत् माग रहेको छ । सो प्रदेशमा सम्भावना अनुसार विद्युत् उत्पादन बढाउन र खपत बढाउन आवश्यक देखिएको उनले बताए ।
तथ्यांक अनुसार १० हजार २ सय २८ मेगावाट विद्युत् उत्पादनको औसत क्षमता रहेको गण्डकी प्रदेशले अहिले सबैभन्दा बढी विद्युत् उत्पादन गरिरहेको छ । हाल सो प्रदेशको उत्पादन ४ सय ५० मेगावाट छ । तर माग भने १ सय मेगावाट मात्र रहेको छ ।
गण्डकी प्रदेशको तुलनामा प्रदेश ३ को उत्पादन भने कम छ । हाल प्रदेश ३ ले ३ सय ८० मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । तर खपत तथा माग भने सबैभन्दा बढी प्रदेश ३ कै रहेको छ । ‘उद्योगधन्दा कलकारखाना, मानव आवादीजस्ता कुराले विद्युत् खपत बढाउँछ,’ अधिकारी भन्छन्, ‘तर मानव बस्ती तथा उद्योगधन्दा बढी भएको प्रदेशमै बढी विद्युत् उत्पादन हुन्छ भन्ने हुँदैन ।’ प्रदेश ३ मा राजधानी काठमाडौंसहित ठूला सहर बढी भएको तथा उद्योगधन्दा बढी भएकाले खपत र माग पनि बढी भएको उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानको तथ्यांक अनुसार केही मात्र चुरे भू–भाग पर्ने प्रदेश २ मा समेत औसत २ सय मेगावाट विद्युत् उत्पादन हुन सक्छ । तर सो प्रदेशमा हालसम्म विद्युत् उत्पादन हुन सकेको छैन । मानव आवादी बढी भएको तथा उद्योगधन्दा बढी भएका कारण यो प्रदेशको विद्युत् माग २५० मेगावाट छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया