पप्पुका मालिकलाई निलम्बन नगर्न भन्दै सभामुखलाई ज्ञापनपत्र

पप्पुका मालिकलाई निलम्बन नगर्न भन्दै सभामुखलाई ज्ञापनपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नियमविपरीत निर्वाचित सांसद हरिनारायणप्रसाद साह रौनियारलाई निलम्बन गरिएको भन्दै संघीय समाजवादी फोरम नेपालको संसदीय दलले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुधबार निलम्बन फुकुवा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

फोरम प्रमुख सचेतक उमाशंकर अरगरिया, पार्टी महासचिव तथा सांसद रामसहाय प्रसाद यादबसहितको सांसदको टोलीले सभामुखको कार्यालयमा भेटेर सांसद रौनियारको गैरकानुनी निलम्बनको बारेमा जानकारी गराएका थिए ।

गत शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद रौनियारको निलम्बन गैरकानुनी भएकाले तत्काल संसदीय गतिविधि गर्नका लागि फुकुवा गरिदिनुपर्ने निर्णय गरेको थियो ।

सभामुखसँगको भेटपछि सांसद रामसहाय प्रसाद यादबले कानुनमन्त्री र अन्यसँग सल्लाह गरेर उपयुक्त निकास दिने आश्वासन पाएको जनाउनुभयो । रौनियार पर्साबाट निर्वाचित सांसद हुनुहुन्छ । सांसद रौनियारले सञ्चालन गर्दै आएको पप्पु कन्ट्रक्सनले धेरैवटा पुल तथा सडक अलपत्र पारेको आरोप लागेको छ ।

बर्दियाको जब्दीघाटस्थित बबई पुल निर्माणमा गुणस्तर/मापदण्ड कायम नगरी भ्रष्टाचार गरेको भन्ने विषयमा प्रतिनिधिसभाका सांसद् हरिनारायणप्रसाद साह रौनियारसमेतको विरुद्धमा २०७५ असोज १९ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हुँदा निलम्बन गरिएको जनाइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo