काठमाडौं । माघे संक्रान्ति प्रायः सबै नेपालीले मनाउने गर्छन् । तर थारु समुदायमा यसलाई विशेष तरिकाले मनाइन्छ । थारु समुदायमा दशैं, तिहार वा अन्य पर्वहरु पनि मनाईन्छ तर माघीलाई धरै महत्वपूर्ण पर्वको रुपमा लिइन्छ । माघ १ गते थारु समुदाययको लागि नयाँ वर्ष, राष्ट्रिय पर्वको रुपमा समेत मनाइन्छ । माघीमा सानाले आफूभन्दा मान्यजनबाट आर्शिवाद लिन्छन् भने मान्यजनहरुले सानालाई दक्षिणासहित आर्शिवाद दिने चलन रहेको छ ।
नेपालको पूर्वी तराईदेखि पश्चिम तराईसम्म २२ जिल्लामा थारु समुदायको बाहुल्यता रहेको छ । तर पछिल्लो समय रोजगारी, अध्ययनको तथा अन्य विविध कारणले काठमाडौंमा धेरै संख्यामा थारु जातिको बसोबास रहेको छ । त्यसैले काठमाडौंमा पनि थारु समुदायले माघे संक्रान्ति भव्य रुपमा मनाउँदै आएका छन् ।
कसरी मनाइन्छ माघी ?
माघ १ गतेलाई माघे संक्रान्ति भनिए पनि थारु समुदायमा पुष २९ गते देखि नै सुरु हुन्छ । माघीका लागि चाहिने सम्पूर्ण सामग्री तयार पार्नेदेखि लिएर घर परीवारका लागि नयाँ लुगाको किनमेल गरिन्छ । माघी आउनुभन्दा केही दिन अगाडि नै सम्पूर्ण तयारी गरिन्छ । एक गते बिहानै कुनै दह, खोला वा नदीमा सिक्कालाई खुट्टाले कुल्चेर नुहाउनु पर्छ । यसरी नुहाउँदा अघिल्लो वर्षमा जानी नजानी गरेका गल्तिहरु पखालिने र जीवन नयाँ यात्रा सुरु भएको भन्ने मान्यता रहेको छ ।
संक्रान्तिको दिन हिंसा गर्नुहुँदैन भन्ने मान्यता छ । त्यसैले पुसको अन्तिम दिन नै सुँगुर–बंगुर काटेर समुदायका मानिसले आफूलाई आवश्यक पर्ने मासुको जोहो गरिन्छ । त्यसरी सुँगुर–बंगुर काट्ने चलनलाई ‘जिता मरना दिन’ पनि भनिन्छ । माघ १ गते विहानै नुहाएर घरमा आई आफूभन्दा मान्यजनबाट आर्शिवाद लिइन्छ र मिठा-मिठा परिकार आइ नाचगान गरी पाँच दिनसम्म मनाइन्छ ।
अन्नलाई सम्मान
नुहाइसकेपछि घरमा आउने वित्तिकै निसराउ गर्ने गरिन्छ । मिश्राउमा चामल, उरुट(मासकको दाल), नुन, पैसा जस्ता सामाग्रीलाई एउटै ठाउँमा राखि घरको सबै सदस्यले छुनुपर्छ । एकजनाले छोएको मिश्राउ अन्य व्यक्तिले छुन हुँदैन । उक्त मिश्राउमा थपेर माघीको दुई तिन दिन पछि विहे गरेको छोरी चेलीलाई दिने गरिन्छ । मानव जातिका लागि अन्न अति आवश्यक हुन्छ । त्यसमाथि चामल, दाल, नुन, पैसा मानव जिविकोपार्जनका लागि चाहिन्छ । अन्नको सम्मानका लागि र अन्नलाई पुज्न पनि निसराउ गर्ने गरिन्छ ।
मिश्राउ दिदिबहिनीलाई दिनुको पनि छुट्टै महत्व रहेको छ । माघीमा निसराउ दिदिबहिनीहरुलाई दिनुको अर्थ माईतीले छोरीचेलीलाई सम्झेको मानिन्छ । त्यसैगरी दुई पक्षबीच सद्भाव कायम रहन्छ भन्ने मान्यता ररेको छ ।
नाचगानको छुट्टै विधा
थारु समुदायमा चाडवर्प विशेषका छुट्टा छुट्टै गीत तथा नाचहरु रहेका छन् । थारु समुदायका कति प्रकारका नाच तथा गितहरु छन् । यकिनका साथ भन्न नसके पनि महिना, सिजन, चाडपर्व अनुसार फरक फरक खालका गित तथा नाचहरु रहेका छन् । जस्तै, दशैमा ‘सखिया नाच’ नाचिन्छ भने माघीमा ‘मघौटा नाच’ नाचिन्छ ।
माघीमा नाच्ने नाचलाई ‘मघौटा नाच’ र गाइने गितलाई धमार भनिन्छ । मघौटा गीत ‘सखिए’ हो बाट सुरु हुन्छ । माघ १ गते घरपरिवारका सम्पूर्ण सदस्य एक अर्काबीच शुभकामना आदान प्रदान गरी आफूभन्दा मान्यजनबाट टिका र आशिर्वाद ग्रहण गरी, घरमा पाकेको मिठो पकवान खाएपछि गाँउका सबै जना भेला भई सामुहिक रुपमा मघौटा नाच नाच्ने गरिन्छ ।
विशेष खानेकुराको परिकार
सामान्यतया तिलको लड्डु, तरुल, सख्खरखण्ड जुन समुदायमा पनि खाने चलन छ । तर थारु समुदायमा माघेसंक्रान्तिको दिन विशेष परिकारका रूपमा ढिक्री खाने चलन छ । यसका साथै पुसको अन्तिम दिन काटेको बंगुरको मासुको विभिन्न परिकार, माछाको सुकुटी, आलु र सिन्कीको अचार,हरियो साग र जाँड पनि बनाउने गरिन्छ । परिवारका सबै अग्रजबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिइसकेपछि सबैजना सँगै बसेर रमाइलो गर्दै बनाएका परिकार खाने गरेको परम्परा रहेको छ ।
शुभ कामको थालनी
माघीलाई नयाँ कामको थालनी गर्ने दिनको रुपमा पनि लिने गरिन्छ । धेरै ठाँउमा मटावा(गाउँका मुख्य व्यक्ति) हुने चलन हराए पनि कतिपय ठाँउहरुमा अझै पनि मटावा रहने चलन छ । त्यसैले माघमा मटावा चयन गर्ने, गाउँमा हुने विभिन्न कामको बाँडफाँट गर्ने, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि काम गरिन्छ । वर्षभरिको हिसाबकिताब मिलाउने दिन पनि भएकाले थारू समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्व रहेको छ ।
केही समय पहिलापहिला कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने कार्य पनि माघीकै दिन गर्ने गरिन्थ्यो । खेतीपातीलगायत विभिन्न व्यवहारको नवीकरण गर्ने दिनका रूपमा समेत माघी रहेको छ । थारु समुदायमा माघिमा विवाह गर्दा राम्रो मानिन्छ ।
पहिले माघेसंक्रान्तिको दिनसार्वजनिक बिदा दिने चलन थिएन । तर थारु, मगर समुदायको माग भएपछि केही वर्षयता सार्वजनिक बिदा दिन थालिएको छ । अझ थारु समुदायको सघन बसोबास रहेका ठाउँमा सम्बन्धित स्थानीय सरकारले थप बिदा पनि दिन थालेको छ ।
लुम्बिनी सरकारले समेत माघीका अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्ति पूर्व देखि पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायले मनाउने भएता पनि संक्रान्ति मनाउने तरिकामा भने फरकपन पाइन्छ ।































प्रतिक्रिया