राष्ट्रपति , उपराष्ट्रपति र प्रधानमन्त्रीको छुट्टा छुट्टै शुभकामना : आज योमरी पूर्णिमा र उधौली पर्व

राष्ट्रपति , उपराष्ट्रपति र प्रधानमन्त्रीको छुट्टा छुट्टै शुभकामना : आज योमरी पूर्णिमा र उधौली पर्व


काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृतिपूजक किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उधौली पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाल साझा फूलबारीका रुपमा सिँंगारिएको तथा नेपालीले मनाउने उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका बताउनुभएको छ ।

उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशलाई प्रगतिपथमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

यसैगरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उक्त अवसरमा आज शुभकामना दिँदै उहाँले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिभएको उल्लेख गर्नुभएको छ ।

योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । योमरी पुन्हिलाई राज्यले पनि उच्च महत्व दिँदै चौध वर्ष अघि ज्यापु दिवसको घोषणा गरेको हो । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातिका विविध संस्कृतिले नेपालीलाई एकताको सूत्रमा बाँधेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ज्यापु संस्कृति विकास कोषले नेपालका मौलिक चाडपर्व र जात्रा मनाउँदै वेषभूषा, बाजागाजा, रीतिरिवाजलगायत सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनका काम गरेकामा प्रशंसा गर्नुभएको छ ।
रासस

Logo