राष्ट्राध्यक्षस्तरमा नेपाल–पोल्याण्डबीच द्विपक्षीय वार्ता : राष्ट्रपति भण्डारी आज स्वदेश फर्कंदै

राष्ट्राध्यक्षस्तरमा नेपाल–पोल्याण्डबीच द्विपक्षीय वार्ता : राष्ट्रपति भण्डारी आज स्वदेश फर्कंदै


कातोबीच (पोल्याण्ड)

नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका पोलिस समकक्षी आद्रेज दुदा कातोभिचबीच भेटवार्ता अत्यन्त सौहार्दपूर्ण एवं मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

नेपाल र पोल्याडबीचको घनिष्ट सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने उपयाबारे राष्ट्रपतिद्वयबीच घनीभूतरुपमा विचार विमर्श भएको छ भने उहाँहरूले जलवायु परिवर्तन र त्यसले गरीब तथा जोखिममा रहेका राष्ट्रमा पार्ने दुष्प्रभावको समीक्षासमेत गर्नुभएको थियो ।

एकअर्काका अनुभूति साट्ने र दुवै देशका जनताको हित प्रवद्र्धनमा केन्द्रित वार्तामा राष्ट्रपतिद्वयले जलवायु परिवर्तनका नकारात्मक असर घटाउन ज्ञान, सीप, प्रविधिका साथै स्रोतसाधनको अधिकतम उपयोग गरेर वातावरण अनुकूलन कायम गर्नुपर्ने र विश्वको तापक्रम बढाउने लगायत वातावरणीय समस्या समाधान गर्न विकसित देशले ती स्रोत र प्रविधि उपयोगमा सघाउनुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पोल्याण्डको कातोभिचमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २४’ मा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएकी राष्ट्रपति भण्डारीसँग सम्मेलनमा सहभागी हुन यहाँ एकत्रित भएका नेपालका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिसँग सङ्क्षिप्त भेटवार्ता पनि भएको थियो ।

जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन राष्ट्रपति कातोभिचको निमन्त्रणामा यहाँ रहनुभएकी राष्ट्रपतिले विभिन्न देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेर पारस्परिक हित र लाभका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसँग अल्वानियाका राष्ट्रपति, सानमारिनोका राष्ट्राध्यक्ष र इस्टोनियाका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारी पोल्याण्डको पाँच दिवसीय भ्रमण पूरा गरी आज (विहिबार) स्वदेश फर्कने कार्यक्रम छ ।
रासस

Logo