मकवानपुर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिस्ट सरकारको कार्यशैली गलत रहेकाले नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन् । मंगलबार प्रदेश राजधानी हेटौंडामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका कारण देशलाई ठूलो घाटा पुगेको जिकिर गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले अपराध नियन्त्रण गर्न, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न सरकार असफल भएको दाबी गरे । ‘धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री नै धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा सहभागी भई पुरस्कार लिनु आपत्तिजनक छ,’ उनले भने, ‘यस्तो कार्यले राष्ट्रिय पहिचान र नेपालीको सम्मानमा गम्भीर धक्का लागेको छ ।’
वर्तमान सरकार पूर्ण रुपले असफल भएको दाबी गर्दै उनले दुई तिहाईको सरकारले शान्ति, अमन चयन गर्ने जनताको चाहानामा तुषारापात भईसकेको दाबी गरे । सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्न नसकेको बताउँदै उनले सरकारले चार महिना अघि बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको अपराधीलाई संरक्षण गरेको आरोप लगाए । तराई क्षेत्रमा विखण्डनकारी सक्रिय हुँदा पनि सरकारले ध्यान नदिएको भन्दै अध्यक्ष थापाले सरकारको संरक्षणमा नेपालमा गैरसरकारी संस्थाका नाममा धर्म प्रचारको काम गईरहेको प्रति आक्रोस पोखे ।
राप्रपा प्राविधिक कारणले चुनावमा हारेपनि पार्टीको विचार जनतामा स्थापित हुँदै गएको उनले बताए । पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी पार्टी एकीकरणको बाधक रहेको आरोप लगाउँदै अध्यक्ष थापाले अब पार्टी एकीकरणका लागि कुरेर नबसी अभियानमा अघि बढ्ने बताए । उनले भने, ‘अब राप्रपाले हिन्दु राष्ट्रका लागि देशभर आन्दोलन थाल्ने भएकाले कार्यकर्ता तयार रहनुहोस् ।’
नागरिकबाट





























प्रतिक्रिया