चौतारा

धार्मिक तथा पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मेला विहिबार देखि शुभारम्भ भएको छ । "/>

सिन्धुपाल्चोकमा गौराती भीमेश्वर मेलाको शुभारम्भ

सिन्धुपाल्चोकमा गौराती भीमेश्वर मेलाको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

चौतारा

धार्मिक तथा पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मेला विहिबार देखि शुभारम्भ भएको छ । प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सम्पन्न हुने सो मेलाका लागि हिजो बाटै चहलपहल शुरु हुन लागेको हो । भीमेश्वरको मन्दिर पुग्न यातायातको समेत सुविधा उपलब्ध छ ।

वर्षातले बिगारेको त्यहाँसम्म पुग्ने सडकको खाल्टाखुल्टी पुर्ने र मन्दिर परिसरमा बिग्रेका स्थानमा मर्मत सम्भार गरी रङ्गरोगन गर्ने काम नगरपालिकाले गरेको छ । मेला भर्न जाने भक्तजनको सुविधाका लागि खानेपानी र विद्युतको व्यवस्था मिलाउने काम सम्बन्धित निकायले जिम्मा लिएका छन् । मेला अवधिभर जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । मेलामा शान्ति कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षाको कडा व्यवस्था मिलाइएको गौराती विकास समाजका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चौतारा पुरानो बजारस्थित गुठी घरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमसेन मूर्तिसँग मिलन गराउने परम्परा रहि आएको छ । भोलिपल्ट सरकारी पूजा सहित गुठीयारको घरघरमा डुलाएर पूजा गरी द्वितीयाको दिन सिन्दुरे यात्रासहित गुठीघरमा रथ थन्क्याए पछि मेला समाप्त हुने गर्दछ । तर प्रत्येक महिनाको पञ्चमीदेखि फागुनसम्मको पञ्चमीमा विभिन्न ठाँउबाट पञ्चबलि लाने चलन छ ।

देशका विभिन्न भाग तथा छिमेकी भारतबाट समेत मेला भर्न आउने सो मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्धार हुँदै आए पनि पछिल्लो समय २०५३ सालमा पुनः निर्माण गरिएको थियो । सोही साल मङ्सिर २ गते तत्कालीन राजारानी वीरेन्द्र र ऐश्वर्यले स्तम्भ स्मृतिको अनावरण गर्नाका साथै एक जोडी रुद्राक्षको विरुवा रोप्नु भएको थियो ।

पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालोले खर्क राखी गाई चराउने गर्दथे । एउटा गाईले राति राति एक ढिस्कामा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्यस्वरुप प्रकटभई दैनिक पूजाआजा गरे भलो हुने भन्दै अन्तरध्यान भएकाले सोही बेला देखि त्यहाँ पूजाआजा गर्दै आएको मान्यता छ ।

गौ अर्थात गाईले रातिराति दूध चढाएको हुँदा गौराती र भूमि खनेर उत्पत्ति भएकोले भुमेश्वर हुँंदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । ऐतिहासिक प्रमाणका रुपमा भने दलबहाहुर कुँवर नाम गरेका व्यक्तिले विसं १६४२ मा मन्दिर चढाएको ढलोटको घण्टाको आधारमा ४३३ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । यहाँबाट समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाँबाट रमणीय दृश्यावलोकनका साथै जुगल हिमशंङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ ।
रासस

Logo