काठमाडौँ
नेपाली कांग्रेसको नयाँ विधानमा राख्ने प्रावधानबारे केही मूल विषयमा सहमति नजुट्दा विकल्पसहितको मस्यौदालाई विधान समितिले पार्टीको केन्द्रीय समितिमा बुझाउने तयारी गरेको छ । हाल विधान समितिले मुलुकको नयाँ संरचना अनुसार केन्द्र देखि मतदान केन्द्रसम्मको विधान तयार पारिरहेको छ । विधानमा केन्द्रमा रहने पदाधिकारी संख्या, पदाधिकारीको निर्वाचन प्रक्रिया, विभिन्न विभागको गठन, सभापतिको अधिकार सहित सदस्यता वितरण र विशेष अवस्थाको व्याख्याबारे सहमति जुट्न सकेको छैन ।
सो बारे जानकारी लिन कांग्रेसले ९ मंसिरका लागि केन्द्रीय समिति बैठक समेत डाकेको छ । सो बैठकमा विधान समितिले विधानको मस्यौदासमेत बुझाउनेछ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले विधानमा राख्ने प्रावधानका केही विषयमा समान धारणा नभएकाले केन्द्रीय समितिमा सो बारे छलफल हुने जनाए ।
‘विधानमा राख्ने प्रावधानका विषयमा अन्तिम सहमति हुन बाँकी छ, विभिन्न विकल्प सहितका प्रावधानहरू आएका छन्, अब केन्द्रीय समितिमा विकल्पसहितको मस्यौदा आउँछ र त्यहीँ छलफल हुन्छ,’ उपसभापति निधिले भने । विधान समितिका प्रवक्ता रमेश लेखकले विधानमा समावेश गर्ने केही विषयमा अघिल्ला बैठकहरूमा केही फरक कुरा आएको जनाए ।
‘विधानमा खासगरी सदस्यता वितरण र पदाधिकारीका विषयमा केही फरक धारणा आएका छन्, अबको बैठकबाट हामी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छौं,’ प्रवक्ता लेखकले भने । विधान समितिको बैठक तिहार यता बस्न सकेको छैन । सभापति शेरबहादुर देउवा निकट नेताहरू विधानमा सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी संख्या बढाउने र केही पदाधिकारी निर्वाचन मार्फत र केही मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्नुपर्ने पक्षमा छन् ।
शीर्ष नेतालाई जिल्ला नजान निर्देशन
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् । उनले विधानका विषयमा केन्द्रीय समितिमा छलफल गरेर जतिसक्दो छिटो विधानको मस्यौदालाई अन्तिम रूप दिनुपर्ने भएकाले समयलाई ध्यान दिँदै केही दिन जिल्ला नजान भनेका हुन् ।
बुधबारको अनौपचारिक बैठकमा नेताहरूबीच ९ गते केन्द्रीय समिति बैठक बस्ने, सो बैठकमा विधान समितिले विधानको मस्यौदा बुझाउने र दुई दिन केन्द्रीय सदस्यहरूलाई अध्ययन गर्न दिएर १२ मंसिरबाट केही धारणा भए राख्न समय दिइने सहमति भएको छ ।
राजधानीबाट





























प्रतिक्रिया