भक्तपुर
सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।
ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमि संचारशाखाले जानकारी दिएको छ ।
तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घर जाँदै गरेका महोत्तरी स्थायी घर भई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रतक्षदर्शी राजाराम खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टिपर हुर्इँकिएर आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरी किच्यो ।”
प्रहरीले टिपर र टिपर चालकलार्इृ भगाएको प्रतक्ष्यदर्शीले आरोप लगाएका छन् । प्रहरीले टिपर चालकलाई पक्राऊ गरेपछि भगाएको स्थानीयको भनाइ छ । स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनाबग्रस्त बनेको स्थानीय अमर श्रेष्ठले बताउनुभयो । घटनाका कारण कौशलटार हुँदै बालकोट, सिरुटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र बनेका थिए भने बसमा आएका यात्रु रातको समयमा अलपत्र परेका थिए ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे जानकारी नआएको बताउनुभयो । टिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । घट्नास्थलमा राती सवा १० बजेसम्म आक्रोसित स्थानीयले टिपर र प्रहरी विरुद्ध नाराबाजी गर्दै टिपर बन्द गर्न माग गरेका छन् ।
रासस





























प्रतिक्रिया