काठमाडौँ
सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोक सेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् ।
आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खान ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिए । दरखास्त दिनेमा महिलाको संख्या २ लाख ९६ हजार ७०४ जना (५२ प्रतिशत) थियो भने पुरुषको संख्या २ लाख ७१ हजार १४९ (४८ प्रतिशत) थियो ।
‘गत वर्ष मागिएको पदभन्दा ९५ गुणा बढी युवायुतीले दरखास्त दिए । यो संख्याले सरकारी सेवाप्रतिको आकर्षण चुलीमा पुगेको अनुभूति गरेका छौं,’ लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्माले भने ।
नेपालको संविधान जारी हुनुअघि आयोगले निजामती सेवाका लागि आवश्यक पर्ने जनशक्तिको मात्रै परीक्षा लिने गरेको थियो । तर संघीय शासन अनुरूपको संविधान आएपछि लोक सेवाले नेपाली सेना, दुईवटै प्रहरी बल तथा अन्य संगठित संस्थाको रिक्त पदमा समेत परीक्षा लिँदै आएको छ । बिनासोर्सफोर्स निष्पक्ष रूपमा परीक्षा हुने भएकाले पनि यसतर्फको आकर्षण बढेको हो ।
आयोगका अनुसार विगत १० वर्षको अवधिमा दरखास्त दिनेको संख्या ६ गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष २०६५/६६ मा कुल दरखास्त संख्या ८६ हजार १६८ मात्रै थियो । आयोगका अनुसार यस अवधिमा कुल ५ हजार ९७० पदका लागि १ हजार २०४ वटा विज्ञापन गरिएको थियो ।
राजधानीबाट





























प्रतिक्रिया