यातायात व्यवस्था विभाग अन्तर्गतको एकान्तकुनास्थित सवारी चालक अनुमति पत्र कार्यालयमा बिहानैदेखि सवारी चालक अनुमति पत्र लिन जानेहरुको भिड लाग्छ । कार्यालय खुल्नासाथ सेवाग्राहीहरु कार्यालयले दिएको रसिद हातमा लिएर तछाडमछाड गर्न थाल्छन् ।
यसरी स्मार्ट लाइसेन्स लिन कार्यालय जानेहरुको लाइनमा पहिलो पटक आउनेदेखि ५ पटक कार्यलय पुग्नेहरुसमेत भेटिन्छन् । लाइन लाग्नेहरुमध्ये ९ महिनासम्म लाइसेन्स नपाएकाहरु समेत छन् ।
स्मार्ट लाइसेन्स पाउने आशले कार्यालय पुगेका सबैले लाइसेन्स भने पाउँदैन । लाइन लागेकाहरु आफ्नो लाइसेन्स आईनपुगेको खबर पाउनासाथ कोही कर्मचारीसँग बाझाबाझ गर्न तम्सिन्छन त कोही निराश हुँदै लुरुक्क फर्किन्छन् । पटक पटक जाँदा पनि लाइसेन्स नबनेपछि कतिपयले भने लामोसमयदेखि लाइसेन्स नै लिन गएका छैनन् ।
साढे ५ लाख चालक चिटको भरमा
यातायात व्यावस्था विभागले समयमा स्मार्ट लाइसेन्स बनाई दिन नसक्दा अहिले साढे ५ लाख सवारी चालकले चिटका भरमा सवारी चलाईरहेका छन् । सरकारले २०७३ मंसिर २० गतेदेखि स्मार्ट लाइसेन्सको दरखास्त लिई पुस ३ गतेदेखि वितरण थालेको थियो ।
स्मार्ट लाइसेन्सको छपाईमा विभिन्न समस्याहरु आएपछि प्रतिक्षाको सूचिमा सेवाग्राहीको संख्या बढ्दै गएको हो । विभागका अनुसार करिव ४ लाख ५० हजार स्मार्ट लाइसेन्सको छपाई गरेर वितरण भइसकेको छ । हाल विभागले ५ लाख ५० हजारको हाराहारीमा स्मार्ट लाइसेन्सको छपाई र वितरणको काम भईरहेको यातायात ब्यवस्था विभागका सुचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए ।
दुई महिनाभित्र सबैको हातमा स्मार्ट लाइसेन्सः विभाग
यातायात व्यवस्था विभागले अबको दुई महिनाभित्र सबैको हातमा स्मार्ट लाइसेन्स पुग्ने दावी गरेको छ । “विविध कारणले केही ढिलाई भएको भएता पनि अब दुई महिनाभित्र सबैको हातमा स्मार्ट लाइसेन्स पुग्नेछ ।” सुचना अधिकारी उपाध्यायले भने । ‘अहिले दैनिक २ हजार वटा स्मार्ट लाइसेन्सको छपाई कार्य हुँदै वितरणका लागि पठाउँने काम भइरहेको छ ।” उनले भने ।





























प्रतिक्रिया