काठमाडौं
मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थको ढुवानी रोकियो । राजधानीमा त्यसको प्रभाव बिहीबार अपराह्नबाटै देखियो ।
पम्पमा इन्धन भर्न सवारीसाधनको लामो लाम लाग्यो । शुक्रबार दिउँसोको वार्तामा चालकको माग अनुसार संहिता संशोधन गर्न सरकार तयार भयो । त्यसपछि पेट्रोलियम पदार्थ ढुवानी सुचारु भएको समाचार पनि आयो । तर राजधानीमा भने पेट्रोलियम पदार्थको हाहाकार यथावतै रह्यो । शुक्रबार दिनभर मात्र नभएर शनिबार पनि एकाबिहानै राजधानीका पेट्रोलपम्पमा सवारीसाधनको लर्को नै देखियो ।
पेट्रोलियम पदार्थ ढुवानी सुचारु गरिए पनि उपभोक्ता आत्तिएको देखिन्थे । उनीहरु २०७२ सालमा भएको भारतको अघोषित नाकाबन्दीकै जस्तो अवस्था हुन्छ कि भनेर तर्सेका थिए । कोही कोही भने समस्यामै परेर तेल थाप्न लाम लागेका थिए भने धेरैजसो उपभोक्ता नाकाबन्दीको जस्तो चरम अभाव होला भनेर पेट्रोल पम्पमा पुगेका थिए ।
नाकाबन्दीका बेला सरकारले ९० दिन सम्म पुग्नेगरी तेल भण्डारण गर्ने योजना सार्वजनिक गरे पनि त्यसलाई अझै अघि बढाएको छैन । त्यो योजना कार्यान्वयन नहुँदा राजधानीवासी भने तेल नै नपाइने अत्यासका कारण आफ्ना महत्वपूर्ण काम छाडेर पेट्रोलको लाइनमा बसेका भेटिए । पेट्रोलको लाइनमा बसेका उपभोक्ता भने सरकारप्रति आक्रोशित थिए । ‘सरकारले कहिल्यै पनि जनताको हितमा काम गर्दैन भनेर बुझियो,’ जोरपाटीको पेट्रोल पम्पमा भेटिएका नरेन्द्र पौडेलले भने, ‘नाकाबन्दीबाट सिकेर भण्डारण गर्नुपर्ने हो । तर यसका लागि सरकारले चासो लिएन ।’
पम्पमा उपलब्ध तेलको परिमाण पर्याप्त नहुनु र लाइनमा बसेका उपभोक्ताको संख्या बढी हुनाले लाम लागेकाहरू निराश र थकित देखिन्थे । ‘लाइनमा बसेको दुई घन्टा हुन लागिसक्यो, आज पनि तेल पाइएला जस्तो छैन,’ बराल पम्प जोरपाटीमा लाइन बसिरहेका चालक सविन खत्रीले भने, ‘हिजै देखि तेल सकिएर कुनै काम गर्न पाएको छैन ।’ सरकारको लापरबाहीका कारण आफूहरूको दैनिकी अस्तव्यस्त भएको उनको दाबी थियो ।
नागरिकबाट































प्रतिक्रिया