काठमाडौं । वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिईन् ।
छोराको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन् । द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारवाही गर्न यसबीच ११ पटक सरकारसँग आग्रह गरेपनि आफूहरुलाई न्याय नदिएको गंगामायाले बताईन् ।
गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधिलाई अन्तर्राष्ट्रिय अदालतले समात्ने दाबी गरिन् । आमरण अनसनका कारण शिथिल बनेकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न गरिन् । छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै आमरण अनसन बसेकी गंगामायाका पति नन्दप्रसादको पनि ३ वर्ष अघि वीर अस्पतालमै ज्यान गएको थियो ।





























प्रतिक्रिया