धनगढी
नौ दिन अघि बझाङस्थित बाउली खोलामा साँघु तर्ने क्रममा लड्दा दुई बालिका बगेर बेपत्ता भए । सुर्मा गाउँपालिका–२ की १५ वर्षीया विमलाकुमारी बोहरा र सोही गाउँकी ९ वर्षीया रिनुकुमारी बोहरा विद्यालयबाट घर फर्कने क्रममा बगेर बेपत्ता भएका हुन् । उनीहरुको शव अहिले सम्म फेला पर्न नसकेको आफन्तले बताएका छन् । खोलामा पुल बन्न नसक्दा प्रदेश ७ का पहाडी जिल्लाका बालबालिका तुइन र साँघुकै भरमा खोला तरेर विद्यालय जाने गरेका छन् ।
२०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री पद सम्हाल्दा केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फड्के विस्थापित गर्दै ती ठाउँमा झोलुंगे पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । उनी दोस्रोपटक प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा पनि देशभर तुइन, साँघु र फड्केको अवस्था उस्तै छ ।
‘खोलामा तुइन बनाउँदा झन् जोखिम हुन्छ भनेर यसपटक साँघु बनायौं,’ स्थानीय शान्ति पुजारा बोहराले भनिन्, ‘साँघुले पनि बालबालिकालाई बगायो, पुल नहुँदा हामीले बालबालिकालाई बचाउन सकिरहेका छैनौं ।’ विद्यालयबाट पढेर फर्कंदै गर्दा दुई बालिका बगेर बेपत्ता भएको उनले बताइन् । उनले भनिन्, ‘पुल नहुँदा हामीले बर्सेनि बालबालिकालाई गुमाउँदै आएका छौं ।’ बाउली खोला तर्न हिउँदमा साँघु र बर्खायाममा तुइनको सहारा लिइन्छ ।
प्रदेश नम्बर ७ का २५ स्थानका नागरिक अझै तुइन प्रयोग गर्न बाध्य छन् । बझाङको बाउलीगाडस्थित छपाली, सुनीगाडको पिनतुसी, सेती नदीको चिरकिटे, सुर्माको धौलीगाड, कालंगाको चटे, साइपालको घाट, गंगाको चिटके लगायतका बासिन्दा तुइन, साँघु र फड्के प्रयोग गर्न बाध्य छन् ।
बझाङको धमेना चिरकिटेमा सेती नदी माथि बनाइएको तुइन प्रयोग गर्दा ज्यानको बाजी लगाउनुपर्ने तलकोट–३ की सावित्रा जोशी बताउँछिन् । गाउँपारिको जंगल आउजाउ गर्न सधैं तुइन चढ्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘तुइनमा झुन्डिएर घाँसदाउरा ओसार्नु हाम्रो दैनिकी हो । अन्य विकल्प नहुँदा ज्यानको बाजी लगाएर खोला तर्नु परेको छ ।’ स्थानीय तह निर्वाचनमा तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गरिदिने आश्वासन पाए पनि जितेपछि नेता गाउँ नफर्केको उनले बताइन् ।
नागरिकबाट































प्रतिक्रिया